काठमाडौं । पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पूर्वप्रधानमन्त्री तथा हाल जेलमा बन्दी जीवन बिताइरहेका इमरान खानको कडा आलोचना गर्दै उनी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा आईएसपीआर महानिर्देशकले प्रयोग गरेको भाषाले यस मामिलाको गम्भीरता देखाउने बताइएको छ । सरिफ चौधरीले भनेका छन्, “त्यो व्यक्ति (इमरान खान)को बयान राष्ट्रिय सुरक्षाका लागि खतरा बनिसकेको छ ।” त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ताले इमरानबारे भनेका छन्, “यस व्यक्तिमा मानसिक रोगका लक्षण देखिएका छन् ।”
पूर्वप्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षाको खतरा घोषित गर्ने सैन्य प्रवक्ताको भाषा ‘गम्भीर’ र ‘अर्थपूर्ण’ मानिएको छ । तर पाकिस्तानी राजनीतिक व्यवस्था र यसको इतिहासमा यो कुनै असामान्य घटना होइन ।
पाकिस्तानमा ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ वा ‘सुरक्षा जोखिम’जस्ता शब्दको सिकार भएका छन् ।
पाकिस्तानमा जनरल अयुब खानले सत्ता कब्जा गरेपछि आफ्नो पहिलो भाषणमा राजनेताबारे ‘कठोर’ शब्द प्रयोग गरेका थिए ।
अयुबले नेताहरूलाई राजनीतिबाट टाढा राख्न ‘एब्डो’ कानुन बनाएका थिए । यस कानुनअन्तर्गत प्रमुख नेताहरूलाई राजनीतिमा भाग लिन अयोग्य घोषित गरिएको थियो । ‘एब्डो’ कानुन वास्तवमा राजनीतिक प्रतिशोधको भावनाबाट बनाइएको थियो, जसको स्पष्ट उद्देश्य नेताहरूलाई जनताको नजरमा तुच्छ देखाउनु थियो ।
पहिलो ‘मार्सल ल’ लागु भएपछि, जो नेता सरकारविरोधी खेमामा थिए, उनीहरूलाई विदेशी षड्यन्त्रको हिस्सा मानिने एउटा सामान्य संस्कृति बन्न पुग्यो ।
जब अयुब खान र फातिमा जिन्नाबीच राष्ट्रपतिको निर्वाचन भयो, तब फातिमा जिन्नालाई ‘देशद्रोही’सम्म भनियो । उनको चरित्रमाथि आक्रमण गरियो । साथै, अयुब तथा उनका समर्थकहरूले वितरण गरेका पर्चामा फातिमा जिन्नामाथि देश टुक्र्याउने षड्यन्त्र रचेको आरोप लगाइयो ।
हामिद खानले आफ्नो किताब ‘पाकिस्तान : अ कन्स्टिच्युसनल एन्ड पोलिटिकल हिस्ट्री’मा लेखेका छन्, “अयुब खान सरकारले फातिमा जिन्नाविरुद्ध देशद्रोह र राष्ट्रविरोधी भावना सिर्जना गर्यो ।”
पाकिस्तानको संविधान बनाउने जुल्फिकार अली भुट्टोलाई फाँसी दिइयो भने उनकी छोरी बेनजीर भुट्टोमाथि पनि देशद्रोहको आरोप लाग्यो ।
अक्टोबर २०२० मा नवाज सरिफले भाषण गरे, जसमा उनले विपक्षी दलहरूको पहिलो बैठकमा भनेका थिए, “देशको संविधान तोड्नेहरू देशभक्त हुन् र यस बैठकमा उपस्थित देशको राजनीतिक नेतृत्व देशद्रोही हो ।”
अक्टोबरमा लाहोरमा नवाज सरिफविरुद्ध देशद्रोह र राजद्रोहको मुद्दा दर्ता गरिएको थियो, जसमा उनको पार्टीले कडा प्रतिक्रिया व्यक्त गरेको थियो ।
मे २०१८ मा तत्कालीन प्रधानमन्त्री साहिद खाकान अब्बासीले संसद्लाई सम्बोधन गर्दै भनेका थिए, “देशलाई अजेय बनाउने कुनै व्यक्तिका बारेमा देशद्रोहको कुरा स्वीकार्य छैन ।”
सन् २०१३ मा सरिफले सत्ता सम्हालेका थिए । त्यसबेलादेखि उनलाई प्रधानमन्त्री पदबाट हटाइँदासम्म र त्यसपछि २०१८ को निर्वाचनसम्म सत्ता प्रतिष्ठानसँगको उनको टकराव चरम थियो ।
सरिफ र सत्ता प्रतिष्ठानबीचको टकराव ९० को दशकमा उतारचढावसहित जारी रह्यो । र, १२ अक्टोबर १९९९ मा सरिफलाई सत्ताबाट हटाइएपछि यो समाप्त भयो ।
जनरल परवेज मुसर्रफको शासनकालमा सरिफ र उनका भाइविरुद्ध विमान अपहरणको षड्यन्त्र रचेको मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला सरिफले सत्ता प्रतिष्ठानसँग जे सामना गर्नुपरेको थियो अहिले इमरान पनि त्यही अवस्था सामना गरिरहेका छन् ।
शुक्रबारको डीजी आईएसपीआरको प्रेस सम्मेलनले इमरान, उनको पार्टी र सैन्य प्रतिष्ठानबीचको तनाव चरमोत्कर्षमा पुगिसकेको स्पष्ट संकेत दिएको छ ।
इमरानले आफ्नो सरकारका अन्तिम दिनमा तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवाको आलोचना सुरु गरेका थिए । जब–जब इमरानलाई अविश्वास प्रस्ताव सरकारको पतनको कारण बन्न सक्छ भन्ने अनुभूति हुँदै गयो, उनी झनै आक्रामक हुँदै गए ।
हालैका दिनमा पूर्वप्रधानमन्त्री इमरान र उनका बहिनीहरू, केही पार्टी नेताहरू तथा खैबर पख्तुनख्वाका नयाँ मुख्यमन्त्रीबीच हुने भनिएको बैठक स्थगित हुने खबरहरूले पनि द्विपक्षीय तनावलाई उजागर गरेको देखिन्छ । यही सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा इमराको बयान एउटा परिणतिका रूपमा आएको हो ।
एकपछि अर्को दुई पूर्वप्रधानमन्त्रीहरूलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भन्नुको अर्थ के हुन्छ ? यसबारे अम्मार अली जान भन्छन्, “देशभक्ति, देशद्रोही, राष्ट्रविरोधी, भ्रष्टाचार यी सबै यस्ता शब्द हुन्, जसको प्रयोग दुष्प्रचारका लागि गरिन्छ ।”