
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआ) अघि बढाउन कांग्रेस र एमालेबीच सहमति भएपछि उत्साहित भएका छन् ।
उनको चीन भ्रमणको प्रमुख मुद्दा बीआरआई अघि बढाउन कांग्रेस सहमत भएपछि उनी सन्तुष्ट भएका हुन् । कांग्रेस(एमाले बीआरआई अघि बढाउन ‘ऋण’ भन्ने शब्द उल्लेख नगरी अघि बढाउन सहमत भएका हुन् ।
बीआरआईमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुसँग शनिबार बालुवाटारमा भएको छलफलमा ओली उत्साही देखिएको स्रोतले जनाएको छ । बीआरआईमा कांग्रेससित टुंगोमा पुग्नु अघि आफ्नो औपचारिक चीन भ्रमणमा ठोस उपलब्धिबारे ढुक्क हुन सकेका थिएनन् ।
‘कार्यदलको मिहिनेतले बीआरआईको राम्रो मस्यौदा बनेको छ । त्यसका आधारमा चिनियाँ पक्षसँग छलफल भएर निष्कर्ष पुग्ने काम हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले जानकारी दिए । मस्यौदामा कांग्रेस एमालेबीच सहमति भएपछि चीनले ‘लचकता साथ सहमति’ जनाउने ओलीको विश्वास छ ।
यसअघि ओलीले आफ्नो चीन भ्रमण फलदायी हुने बताइसकेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो चीन भ्रमण गर्न लागेका उनले चीनसँग ‘गेम चेन्जिङ’ परियोजनामा सहमति चाहे पनि ठोस आकार आइसकेको थिएन । बहुचर्चित बीआरआईअन्तर्गत पूर्वाधार परियोजना अघि बढाउन सहमति हुने संभावना भएपछि उनी उत्साही देखिएका हुन् ।
यसैबीच बीआरआईमा भएको सहमतिपछि एमाले महासचिव शंकर पोखरेलले सुखद् प्रक्रिया सुरु भएको जनाएका छन् । सहमतिसँगै बीआरआई परियोजना कार्यान्वयन हुने उनको भनाइ छ ।
‘बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा ९एमाले०ले साझा धारणा बनाउने काम गरेका छन् । अब बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ,’ उनले फेसबुक पेजमा भनेका छन्, ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस विषयले यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तिव्रता आउनेछ ।’
उनले ‘बिआरआईका सन्दर्भमा प्रमुख दलहरु बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रकृया आरम्भ भएको मान्न सकिने’ बताएका छन् ।
काठमाडौंमा तयार भएको बीआरआई मस्यौदा बेइजिङ पुगेर चिनियाँ पक्षले अध्ययन गरिरहको बालुवाटार स्रोतले जनाएको छ । ‘चिनियाँ पक्षलाई पठाएको मस्यौदाको अध्ययन भइरहेको छ । प्रधानमन्त्री बेइजिङ पुग्नअघि नेपाल चीनबीच सहमतिको मस्यौदा तयार भइसक्छ’ स्रोतले भन्यो ।
परराष्ट्रमन्त्री आरजु देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी शनिबार स्वदेश फर्केकी छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण र सहमति हुने संभावित विषय बीआरआई सहमतिलगायत विषयमा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो । आफ्नो भेटवार्ताबारे राणाले शनिबार ओलीलाई जानकारी गराएकी छन् ।
चीनले बीआरआईअन्तर्गत नेपालमा पूर्वाधार विकास, व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी, ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टिभिटी नेटवर्क अघि सारेको छ ।
दुई दलबीच सहमति भएको मस्यौदामा पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर तयार गरिएको छ । यसअघि चिनियाँ पक्षले तयार गरेको बीआरआई दस्तावेजमा राजनीतिक अर्थ लाग्ने ‘सिद्धान्त, विचार, अवधारणा’ जस्ता शब्दको सट्टा पूर्वाधार शव्दा राखी नेपाली पक्षले मस्यौदा तयार गरेको छ ।
अबदेखि नेपालमा सुरु हुने चीनका परियोजना बीआरआईअन्तर्गत हुने भएकाले नेपालले सुझबुझपूर्ण तरिकाले पूर्वाधार विकासलाई जोड दिएको छ । सकेसम्म पूर्वाधार परियोजनाहरु अनुदानमा आधारित हुने नेपाल पक्षको प्रस्ताव छ ।
बीआआईको ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न शुक्रबार दुई दल सहमत शुक्रबार सहमत भएका थिए ।
कार्यदलका सदस्यहरुले त्यही सहमतिलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका थिए । मस्यौदालाई ओली र देउवाले ‘अनुमोदन’ गरेको एक सदस्यले बताए ।
बीआरआईसम्बन्धी सम्झौताको दस्ताबेज टुंगो लागेसागै चीनसँग प्रस्ताव गरिने पूर्वाधार, सहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूची तयार गरेको छ ।
नेपाल पक्षले टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजना अघि सार्ने तयारी गरेको छ ।