तेहरान– इरान र अमेरिका तथा इजरायलबीच जारी युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ ।
इरानका इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का वरिष्ठ जनरल मोहम्मद रजा नक्दीले युद्ध सन् २०२९ को जनवरीसम्म लम्बिन सक्ने बताएका छन् ।
उनका अनुसार इरानले आफ्नो सुरक्षा सुनिश्चित गर्न र भविष्यमा हुने सम्भावित आक्रमण रोक्न दीर्घकालीन रणनीति अपनाउन सक्छ ।
यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुँदासम्म अमेरिकाले ठूलो क्षति व्यहोर्नुपर्ने उनको दाबी छ ।
यसैबीच, इरानले अमेरिकी सेनाका ४५ वटा एमक्यू–९ ‘रिपर’ ड्रोन खसालेको दाबी गरिएको छ ।
ती ड्रोनको कुल मूल्य १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ ।
उता, गाजामा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनरको नेतृत्वमा इजरायल र इजिप्टसँग छलफल गरी युद्ध अन्त्यको योजना अघि बढाइएको छ ।
प्रस्तावमा हमासलाई निशस्त्रीकरण गर्ने र गाजाबाट इजरायली सेना फिर्ता गर्ने विषय समेटिएको छ ।
हमासले प्रस्तावप्रति सहमति जनाए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म सेना फिर्ता नहुने अडान दोहोर्याएका छन् ।
यससँगै पश्चिम एसियाको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ ।
इरान–अमेरिका तथा इजरायलबीचको सैन्य तनाव र गाजामा जारी युद्धका कारण क्षेत्रीय शान्ति तथा स्थायित्वमाथि चुनौती कायमै छ ।