
गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जललि अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेको सिघ्र स्वास्थ्य लाभको कामनासमेत बैठकले गरेको छ।
‘विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’, मुख्यमन्त्री पाण्डेले भने । यस अघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो।
साथै प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ।
यस्तै बैठकले गण्डकी प्रदेश भित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाईंको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो।
समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेश गर्ने छ।