
सचिव शर्माले मन्त्रालयको टोलीले स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना बताएका हुन् । ‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू रहेका छन् । गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ,’ उनले भने, ‘सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौं । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्नसकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ ।’
असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । तीमध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्रउपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए ।
हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको सचिव शर्माले बताए । हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए ।
त्यस्तै, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको शर्माको भनाई छ ।
क्षति भएका पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको सचिव शर्माले बताए ।