रास्वपाको बन्दसूची विवादित- तोसिमादेखि रविकी ‘बहिनी’ सम्मले पोखे सार्वजनिक असन्तुष्टि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरेको बन्दसूची पार्टीभित्रै समेत विवादित बनेको छ । समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनलाई ‘बेकम्मा’ बनाइएपछि पार्टीकै नेताहरुले असन्तुष्टि पोख्न थालेका छन् ।

कसैले सोझो त कसैले घुमाउरो तरिकाले सामाजिक सञ्जालमा स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका हुन् । रास्वपा केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. तोसिमा कार्कीले खुलारुपमा यो बन्दसूचीप्रति असहमत जनाएकी छन् । उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन् । पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको मत छ ।

फेसबुकमा उनले लेखेकी छन्, ‘पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोष्टमा हुनेहरू नै समानुपातिक सूचीको लागि आकांक्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु र बनाइनुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको छ ।’

पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ ‘पोसिसन अफ बेनिफिटमा’ हुने र प्राइमेरीको भोटिङदेखि मूल्यांकनसम्म प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

उनी थप्छिन्, ‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचिमा ! त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन ।’

पार्टीको उच्च पदमा बस्नेहरूले प्रत्यक्षमा लड्ने हिम्मत राख्नुपर्ने तोसिमाको सुझाव छ ।

‘अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ?’ उनको प्रश्न छ ।

तोसिमाले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्नुपर्ने बताएकी छन् । रास्वपाको बन्दसूचीमा परेकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सूची सच्याउनुपर्ने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘हतारमा भएका त्रुटिहरू सच्याएर अगाडि बढौँ ।’

रास्वपाको प्राइमरी इलेक्सनमा संग्रौलाले महिलातर्फ दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् । बन्दसूचीमा भने उनको नाम खस आर्य महिलातर्फ छैटौं नम्बरमा छ । ज्वाला रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छिन् ।

आफूलाई रविकी बहिनीका रूपमा चिनाउने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘यो परीक्षा हाम्रो बिल्कुल होइन, यो परिक्षा केन्द्रको हो, यो परिक्षामा हामी पास हुने होइन केन्द्र पास हुनु पर्छ । प्राइमरी इलेक्सनको गलत भाष्य फैलिनु हुन्न भनेको थिएँ, आखिर त्यस्तै भयो । अहिले जे जे भएको छ यसलाइ सच्याइयोस । ग्राउन्डको आवाज सुनियोस् ।’

स्वस्तिकाले पनि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । खस आर्य महिलातर्फ उनलाई राम्रै मत पनि आएको थियो । तर, बन्दसूचीमा अटाइनन् ।

पारिवारिक नाता नभए पनि स्वस्तिकाले रविलाई दाजु मान्दै आएकी छन् । रवि कारागारमा हुँदा घन्टीघरमा राखिएको उनको ‘कटआउट’ मा स्वस्तिकाले रुँदै राखी बाँधेकी थिइन् ।