नेतृत्व छाड्न दाहाललाई दबाब

0 Shares

काठमाडौँ — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतत्वबाट बिदा दिन अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा फरक मत राख्दै पार्टी पुनर्गठनको अभियान तुरुन्त सुरु गर्न माग गरेका छन् ।

‘पार्टी महाधिवेशन त्यसरी उपयुक्त समयमा गर्ने तयारीअनुरुप अघि बढ्दै गर्दा पनि पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिल्यै गरिनु पर्दछ । अहिले जेन-जी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नु पर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ,’ उनको लिखित मतमा भनिएको छ, ‘महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो वरीयताका नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ । यो पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपिल गर्न सकारात्मक कदम हुनेछ ।’

तर उनले दाहाल स्वयंको वास्तविक सहमतिमा मात्र यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुने बताएका छन् । ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्दै गरिनु पर्दछ,’ उनको थप भनाइ छ, ‘नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नु पर्ने हुन्छ, त्यसरी नै व्यक्ति नेताहरुको हकमा प्रचण्डको मुख्य योगदान रहेको तथ्यलाई पनि मान्नै पर्ने हुन्छ ।’

विगतमा दाहालको नेतृत्वले पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको परिप्रेक्ष्यमा ३ दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेन-जी आन्दोलनपछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूका सन्दर्भमा जनमानसमा परेको वा पारिएको पर्सेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिलसहित पार्टी निर्माण प्रक्रियामा अघि बढ्न आजको सन्दर्भमा नयाँ ढंगले अघि बढ्नु पनि त्यत्तिकै आवश्यक छ,’ उनले लेखका छन् ।