माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केही दिनभित्रै पार्टी एकता गर्न छलफल चलिरहेको एक नेताले जानकारी दिए । पार्टी एकताकै लागि यसअघि साउन र भदौमा गरी ६ पटक छलफल भइसकेको उनले बताए ।
दुवै अध्यक्षले पार्टी एकताको आधार खोज्न गत २७ साउनमा दुवै दलका सातै प्रदेश इन्चार्जसँग बैठक गरेका थिए । उनीहरूले राजनीतिक र वैचारिक मतभेद ठूलो नभएको उल्लेख गर्दै पार्टी एकता गर्न सुझाव दिएका थिए । माओवादी उपमहासचिव वर्षमान पुनले विचार मिल्ने दलसँग एकताको प्रयास गर्ने पार्टीको नीतिअनुरूप एकीकृत समाजवादीसँग प्रारम्भिक छलफल भएको जानकारी दिए । ‘बदलिँदो परिस्थितिमा वाम एकता झनै आवश्यक छ,’ उनले भने, ‘हामीले अहिले विशेष महाधिवेशनलाई जोड दिएका छौं । वैचारिक, राजनीतिक र सांगठनिक कुरा मिल्यो भने हामी महाधिवेशन र पार्टी एकतालाई सँगसगै लैजान्छौं ।’
सम्मानित नेता झलनाथ खनाललगायत केही नेताको असहमतिबीच अध्यक्ष नेपालको जोडबलमा शुक्रबार एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक गरेर नीति, विचार, सिद्धान्त मिल्ने दलसँग एकता गर्ने निर्णय लिएको थियो । ‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीका तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्छ,’ एकीकृत समाजवादीको निर्णयमा भनिएको छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले माओवादीसँग राजनीतिक, सैद्धान्तिक र वैचारिक मतभेद नभएकाले एकताका लागि सहज हुने बताए । ‘राजनीतिक, वैचारिक र सैद्धान्तिक मतभेद छैन, सांगठनिक संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल हुन बाँकी छ,’ उनले भने । एकतापछि हुने सम्भावित पार्टीको नाम र चुनावचिह्नबारे आगामी बैठकमा छलफल हुने उनले जानकारी दिए । माओवादीले पहिलेदेखि नै नाम फेर्न चाहेको छ ।

एकता गर्दा दुवै अध्यक्षको योगदानको कदर गर्दै सम्मानजनक पद सिर्जना गर्ने विषयमा पनि दुई दलका नेताहरूले छलफल सुरु गरेका छन् । ‘पहिलो पुस्ताका नेतालाई सम्मानजनक पदमा राखेर सांगठनिक संरचना बनाउँदा राम्रो होला भन्नेछ,’ भुसालले थपे ।
माओवादी र एकीकृत समाजवादीले संसद् पुनःस्थापनाको माग छाडी चुनावमै जाने निष्कर्ष निकालेका छन् । ‘पार्टी एकतासहित चुनावमा जानु राम्रो हुन्छ, अब चुनावकै तयारीमा लाग्नुपर्छ भन्ने निर्णय हो,’ भुसालले भने, ‘पुराना पार्टी र नेताले धेरै प्रश्न सामना गर्दै चुनावमा जानुपर्नेछ ।’
एकीकृत समाजवादीका धेरै नेता तथा कार्यकर्ता एमालेमा फर्कने क्रम चलिरहेको छ । एमाले विभाजनको औचित्य पुष्टि नभएको भन्दै एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता पुरानो घर फर्कने गरेका हुन् । एमालेले पनि एकीकृत समाजवादीका नेता तान्ने नीति लिएको छ । पार्टी, नेता, कार्यकर्ता जोगाउन पनि माओवादीसँग एकता गर्नु बाध्यता बनेको एकीकृत समाजवादीका एक नेताले बताए ।
माओवादीको २० साउनमा बसेको केन्द्रीय समिति बैठकले नेत्रविक्रम चन्दले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र समाजवादी विचार मिल्ने दलसँग सहकार्य गर्दै एकतामा रूपान्तरण गर्ने निर्णय लिएको थियो ।
‘एकताबद्ध भएर वाम आन्दोलन अघि बढाउन निकट दलसँग संवादको ढोका खुलै राखेका छौं,’ माओवादीका उपमहासचिव पुनले भने । नेकपाले भदौ तेस्रो साता बसेको केन्द्रीय समितिबाट अनिल शर्माको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।
माओवादी, एकीकृत समाजवादी र नेकपा सम्मिलित ‘समाजवादी मोर्चा’ कायम छ । मोर्चामा रहेका दलहरूले मुलुकका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्दै आएका छन् । विघटित प्रतिनिधिसभामा माओवादीको ३२ सिट र एकीकृत समाजवादीको १० सिट थियो ।
एकीकृत समाजवादीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा हुने सुनिश्चित गर्न सरकार, राजनीतिक दल, नागरिक समाज लाग्नुपर्ने निर्णय गरेको छ । निर्वाचनमा जानुअघि माओवादीसँग एकता गर्ने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल छन् ।
अध्यक्ष नेपाल पतञ्जलिको जग्गा हिनामिनामा मुद्दा दायर भएपछि अप्ठ्यारोमा परेका छन् । पार्टीभित्र अध्यक्ष पद छाड्नुपर्ने दबाब छ । अर्कातिर आफूविरुद्ध लागेको मुद्दा जित्ने आधार तय गर्नुपर्नेछ । त्यसका लागि उनले माओवादीसँग सहकार्य हुँदै पार्टी एकता गर्न चाहेको एक समाजवादीका एक पदाधिकारीले बताए ।