दाहालको निवासमा जलेका नोटबारे सम्पत्ति शुद्धीकरण विभागको मुचुल्का

0 Shares

काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा जलेका भनिएका नोट र जलेको घरको घटना मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ।

विभागको टोलीले मंगलबार दाहालको खुमलटारस्थित निवासमा पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको हो।

भदौ २४ गते भएको तोडफोड र आगजनीमा सरकारी र सार्वजनिक संरचना, दलका पार्टी कार्यालय र नेताका निवासहरू समेत निशानामा परेका थिए। त्यस क्रममा दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन मन्त्री दीपक खड्कासहितका घरमा आगजनी भएको थियो।

आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसपछि रकमको स्रोत र घरमा राखिएको कारणबारे प्रश्न उठेको थियो।

सम्पत्ति शुद्धीकरण विभागले अब सो रकमको स्रोत, कानुनी स्थिति र सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्भावित मुद्दा अनुसन्धान अघि बढाएको जनाएको छ।

हाल दाहालको निवासमा प्रहरीले सुरक्षा कडा पारेको छ र बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ।

यस्तै विभागले असोज ६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको थियो ।

विभागको टोलीले गत आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको थियो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

२४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बुढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो ।

विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भए उनीहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ । यता, राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताका घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।