किन धमाधम बिदेसिँदै छन् जनप्रतिनिधि ?

0 Shares

गोरखा — चुमनुव्री गाउँपालिका–६ चुम्चेतका वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनी वैदेशिक रोजगारीका लागि मंगलबार जर्मनी गएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीसाथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो, तर जति गर्दा पनि कहिल्यै जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिल्यै पनि आत्मसन्तुष्टि भएन ।’

अबदेखि राजनीतिबाट सदाका लागि बिदा भएको निर्णयसहितको घोषणा पनि उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘जिन्दगीलाई पुनः एकपटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् । वडाध्यक्ष पद छाड्दा सेवा प्रवाह प्रभावित नहुने र कार्यवाहक वडाध्यक्षमार्फत निरन्तर सेवा उपलब्ध हुने पनि उनले उल्लेख गरेका छन्। लामाले वडा सदस्य ठिले ग्याम्जोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

वडाध्यक्ष लामा २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडाध्यक्ष लामाले आफू विदेश गएकोबारे गाउँपालिकालाई पनि जानकारी गराएका छन् । लामाले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी ठिले ग्याम्जोलाई दिएको जानकारी गाउँपालिकामा गराएको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। ‘नफर्कुन्जेल कार्यवाहकको जिम्मेवारी वडा सदस्यलाई दिएको जानकारी गराउनुभएको छ,’ उनले भने। कार्यवाहक वडाध्यक्षले पनि वडाध्यक्षसरह नै अधिकार पाउने लामिछानेले बताए ।

चुमनुव्री गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि विदेश गएको यो पहिलो भने होइन । यसअघि पनि तीन जना वडा सदस्य राजीनामा दिएर बिदेसिएका छन् । चुमनुव्री–४ का वडा सदस्य सोनाम लामा, कार्यपालिका सदस्य डोल्मा लामा र वडा नम्बर ७ का सदस्य छेटेन लामाले वडा सदस्यको पदबाट राजीनामा दिएर बिदेसिएको लामिछानेले बताए। ‘तीन जना वडा सदस्य गएको फागुन र वैशाखमा राजीनामा दिएर बिदेसिनु भएको हो,’ उनले भने । वडाध्यक्ष लामाले भने राजीनामा दिएका छैनन् ।

गोरखामा २०७९ सालको निर्वाचनबाट निर्वाचित अन्य दुई जना वडाध्यक्ष पनि विदेश गएर फर्किएका छैनन्। सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल र धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर घले विदेश गएका एक वर्ष बितिसकेको छ। माओवादीबाट निर्वाचित पोखरेल अघिल्लो असारमा अमेरिका गएयता फर्किएका छैनन्। एमालेबाट निर्वाचित धार्चे–६ का वडा अध्यक्ष घले पनि बेलायत गएर उतै बसेका छन्।

धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर घलेवडाध्यक्ष घले लामो समयदेखि कार्यालयमा उपस्थिति नभएपछि स्पष्टीकरण सोधे पनि लिखित जवाफ नआएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। ‘गएको भदौमा उहाँ विदेश जानुभएको हो, म्यासेन्जरमा कुराकानी पनि भएको थियो, स्पष्टीकरण पनि सोध्यौं,’ उनले भने, ‘मौखिक रुपमा नआउने जानकारी गराउनुभयो, लिखित जवाफ आएन, हामीले उहाँको सेवासुविधा ६ महिनादेखि रोकेका छौँ।’ सेवा सुविधा रोकेको बारे निर्वाचन कार्यालय र जिल्ला समन्वय समितिमा पनि जानकारी गराएको गाउँपालिका अध्यक्ष गुरुङले बताए।

सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष पोखरेल लामो समयदेखि वडा कार्यालयमा अनुपस्थित भएपछि स्थानीयले वडाध्यक्ष पद खारेजीको माग राख्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए। पोखरेलले अघिल्लो असारमा रामचन्द्र पोखरेललाई कार्यवाहक तोकेर अमेरिका गएका थिए। ‘उहाँ अघिल्लो साउनमा गाउँपालिकामा जानकारी गराएर विदेश जानुभएको थियो, दोस्रो पटक माघमा आएर फेरि असारमा विदेश जाँदा गाउँपालिकालाई जानकारी भएन,’ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने, ‘स्थानीयहरुले हाम्रो निर्वाचित वडाध्यक्ष कहाँ हुनुहुन्छ जानकारी चाहियो भनेर हामीलाई ज्ञापनपत्र पनि बुझाउनुभएको छ।’

कार्यवाहक वडाध्यक्ष तोकेको जानकारी समेत गाउँपालिकालाई नगराई वडाध्यक्ष पोखरेल विदेशमा बसेको उनले बताए। ‘उहाँको इमेल आइडी नभएपछि ह्वाट्सएप, म्यासेन्जरमार्फत पत्राचार पनि गर्‍यौं, वडा कार्यालयमार्फत स्वास्थ्य अवस्थाले डाक्टरको निगरानीमा रहेको जानकारी गराउनुभयो,’ उनले भने, ‘सम्पर्कमा नआएपछि सेवासुविधा भने रोक्का गरेका छौँ।’

५ वर्षका लागि निर्वाचित जनप्रतिनिधि बिदेसिनु दुःखद भएको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन्। ‘जनताको निम्ति समर्पित बन्छु, सेवा गर्छु भनेर निर्वाचित भएको जनप्रतिनिधि कर्तव्यबाट विमुख हुनुहुँदैन, यस्ता क्रियाकलापले जनताको मतको अनादर गर्छ, जनताप्रति गैरजिम्मेवार देखिन्छ,’ उनले भने।