काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा समाचार सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता दिनका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका स्रोतले जनाएको छ ।
भारत र नेपालबिचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण रहेको जनाउँदै विदेश मन्त्रालयले हालैका वर्षहरूमा दुवै देशबिच विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ । भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने गरेको समेत विदेश मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीको यसपालिको भ्रमणले नेपाल–भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन अवसर दिलाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।