काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा दाहालले प्रधानमन्त्री ओलीले हावादारी मात्रै गफ दिएको बताएका हुन् ।
प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । आफू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको र आफूले सदनमा बोलेकोभन्दा फरक नरहेको दाहालको भनाइ छ ।
‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ । टीयु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठीक छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले बुधबार मात्र संसद्मा दाहाललाई लक्षित गर्दै त्रिवि क्रिकेट रंगशाला निर्माण कार्य हेर्न सँगै जान पनि चुनौती दिएका थिए । त्रिवि क्रिकेट रंगशालालाई लिएर पछिल्लो समय दुई नेताबीच घोचपेच चल्दै आएको छ ।