काठमाडौँ — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिमा ‘सकारात्मक हस्तक्षेप’ का लागि भन्दै एक सातामा चार नेतासँग संवाद गरेका छन् । माओवादीका तर्फबाट आधिकारिक रूपमा उनले संवाद गरेका हुन् ।
कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुन थालेको भन्दै सहकार्यका लागि छलफल अघि बढाएको उनले बताएका छन् ।
‘संघर्ष, आन्दोलनबाट ल्याएको यो राजनीतिक प्रणालीमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ । त्यसका विरुद्ध सकारात्मक हस्तक्षेप गर्ने उद्देश्यले राजनीतिक संवाद सुरु गरिएको हो,’ श्रेष्ठले भने, ‘देशभक्त, वामपन्थी दलहरूसँग सहकार्य र विचार मिल्ने दलसँग पार्टी एकता गर्नेबारेमा कुराकानी भएको हो ।’
उनले साउन २१ मा नेकपाका महासचिव नेत्रविक्रम चन्द, साउन २३ मा नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल, साउन २५ मा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र साउन २६ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।
उनले यादवलाई समाजवादी मोर्चामा सहभागी हुन, खनाल र भुसालसँग समाजवादी मोर्चालाई अझ सक्रिय बनाएर पार्टी एकताको आधार तयार पार्न प्रस्ताव गरेका थिए । चन्दसँग भने माओवादी स्थायी समितिको निर्णय अनुसार पार्टी एकताको प्रक्रिया अघि बढाउनेबारे कुराकानी गरेका थिए ।