काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको मनोबल बढाउन स्थिर नीतिको पक्षमा रहेको बताएका छन्। भृकुटीमण्डपमा बुधबारबाट सुरु ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकारले अस्थिर नीतिको पक्षमा नभएको बताए ।
‘बजेट निर्माण गर्दा निजी क्षेत्रसँग र उनीहरूको छाता संगठनसँग धेरै छलफल र संवाद गर्यौं,’ उनले भने, ‘यो अर्थमन्त्रीले होइन, निजी क्षेत्रले हामीले बनाएको बजेट होस् भन्ने थियो, त्यही अपेक्षा अनुसार बजेट बनाइएको छ ।’
नीतिगत अस्थिरताले गर्दा व्यवसाय, उद्योगमा कुन प्रकारको प्रतिकुलता सिर्जना हुन्छ भन्ने कुरा सरकारलाई थाहा भएको भन्दै उनले स्थिरतामा ध्यान दिनुपर्छ भन्ने सोचकासाथ बजेट ल्याइएको स्पष्ट पारे। निर्माण गरिएको छ । त्यो स्थिरताका लक्षणहरु बजेटमा अभिव्यक्त भएकै छन् ।
‘सरकारको ध्यान निजी क्षेत्रको मनोबल कसरी उठाउने, आत्मविश्वास, रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुरामा बढी छ,’ उनले भने, ‘त्यसैले निजीक्षेत्रमैत्री र उनीहरुको मनोबल उठाउने गरी बजेट निर्माण गरेका छौँ।’
उनले व्यवसायीले उठाउँदै आएको सडक पूर्वाधारमा सरकारको ध्यान गएको भन्दै अहिले राजमार्गहरुको विस्तार र स्तरोन्नतिको काम भइरहेको बताए । मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्वपूर्ण इन्जिन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० की अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्।
नाइमाले सीटीईभीटीसँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको जानकारी दिँदै उनले यसले नेपाली युवाका लागि समावेशी र भविष्य उन्मुख रोजगारी सुनिश्चित गर्ने विश्वास आफूहरूको रहेको बताइन्। नेपालको इतिहासमा सबैभन्दा ठूलो एक्स्पोको आयोजना गरिएको आयोजक समितिका संयोजक शिरीष मुरारकाले बताए।
एक्स्पोमा ५० वटा ब्रान्डका सवारी साधन राखिएका छन् । साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ३५ वटा नयाँ भेरिएन्टका सवारी सार्वजनिक गरिदैं छ । पाँच दिनसम्म चल्ने एक्स्पोको ८० हजार बढीले अवलोकलन गर्ने दाबी आयोजकको छ ।