काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता र कार्यकर्तासँग आह्वान गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए।
बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने पनि उल्लेख गरे। सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने कामले मात्र दलितहरूले अधिकार नपाउने उनको भनाइ छ।
उनले आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार गरे। विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको स्मरण गरे।
अध्यक्ष दाहालले भने, ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो। हामी आन्दोलनमा जाने हो। बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब। नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने अनि मुक्ति पाइन्छ भन्न थाले भने अधिकार पाइँदैन। हामीलाई शक्ति चाहिन्छ। हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो थिएन। राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो। क्यान्टिनमेण्ट भए पनि बन्दुक नै थियो। म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने, त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त। अहिले त… छैन।’
अध्यक्ष दाहालले फेरि सेना बनाउनुपर्ने भन्ने कुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताए। चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रूपमा प्रयोग गरेर अघि बढ्ने उनको भनाइ थियो।