भैरहवा– सुप्रिम सहकारी ठगीको मुद्दामा रुपन्देहीको कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो भागको बिगो तिर्न बैंक जमानत जिल्ला अदालत रुपन्देहीमा बुझाएका छन् ।
तीन दिनअघि थुनाबाहिर राख्न माग गर्दै निवेदन दिएका लामिछानेले अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका छन् ।
लामिछानेले थुनाबाट रिहा हुन मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिएर अदालतबाट रिहा गर्ने आदेशको माग गरिरहेका छन् । दफा ६८ मा धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने व्यवस्था छ भने दफा ७१ मा थुनामा राख्ने वा रिहा गर्ने दायराको व्यवस्था गरिएको छ ।
लामिछानेले आफू निर्दोष भए तापनि सहकारी पीडितका लागि आफ्नो हिस्साको बिगो तिर्न तयार रहेको बताएका छन् । उनको निवेदन दर्ता भएसँगै इजलासले विपक्षीलाई जानकारी दिन आदेश दिएको छ । यद्यपि हाल पेसी स्थगित छ ।
यो मुद्दामा लामिछानेमाथि १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ, जसमा आफ्नो भाग बराबरको रकम उनले बैंक जमानत राखेका छन् ।
पहिले जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो तर उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई थुनामा राख्ने आदेश दिएको थियो । लामिछानेले सर्वोच्च अदालतमा पनि निवेदन दिएका थिए, तर सर्वोच्चले पनि थुनामा राख्ने आदेश दियो ।