गृहमन्त्रीपछि प्रधानमन्त्री पनि ‘मानव तस्करी’मा मुछिए, ओलीसँगै स्पेन गएका १० जना फर्केनन्

0 Shares

काठमाडौं । असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्’ मा सहभागिता जनाउनका लागि स्पेनको भ्रमणमा जाँदा उनी सँगै गएका गएका १० जना नेपाली स्वदेश नफर्केको खुलेको छ।

समाचार अनुसार उनीहरूमध्ये अधिकांश स्पेनमै र केही अन्य युरोपेली देश पुगिसकेका छन्। स्पेनमै रहनेहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद रहेका उकेराको दाबी छ।

ताप्लेजुङकी शिक्षाको फेसबुक गतिविधि हेर्दा युएनको कार्यक्रममा सहभागी भएकी उनी त्यसपछि जर्मनी पुगिसकेको देखिन्छ। उनले फेसबुकमा जर्मनीको ह्यामबर्ग पुगेको अपडेट गरेकी छन्। उनले झापामा बुटिक व्यवसाय गरेकी बसेकी थिइन्।

विकासका लागि वित्तसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, विश्व तथा क्षेत्रीय संघसंस्थाहरू, वित्तीय एवं व्यापारिक निकायका प्रमुखहरू, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र संयुक्त राष्ट्र संघ प्रणालीका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए।

प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू नफर्किएको भन्दै असार २४ गते संसद बैठकमै प्रश्न उठाइन्। त्यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको दाबी गर्दै रास्वपा र राप्रपाले ३ हप्तायता संसद बहिष्कार गर्दै आइरहेको छ।

त्यसपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सबै फर्किएको दाबी गरे। यसै क्रममा, परराष्ट्र मन्त्रालयले पनि एक सूचना जारी गर्दै प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको भन्यो।

तर, यसै कार्यक्रमको आवरणमा केही व्यक्तिलाई मानव तस्करीको उद्देश्यले नक्कली कागजात बनाएर स्पेन पठाउन एउटा संगठित गिरोह सक्रिय रहेको तथ्य खुलासा भएको उकेराले समाचार प्रकाशित गरेको छ। अब भने रास्वपाको दाबी जस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक र प्रधानमन्त्री ओलीमाथि नै छानबिन गर्नुपर्ने देखिएको छ।

किनभने प्रधानमन्त्री स्पेन जाँदा १० जना नफर्किएको मात्र हैन, त्यसअघि असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुको कागजात नक्कली रहेको पाइएपछि विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेको तथ्य समेत बाहिरिएको छ। दुतावासले अन्तिम समयमा उनीहरूको भिसा रद्द गरेको थियो।

अहिले स्पेनमा रहेकाहरू भने दुतावासको निर्देशन र निगरानीलाई समेत छल्दै स्पेन पुगेको देखिन्छ। यस प्रकरणमा गैरसरकारी संस्थाहरूको संलग्नता पनि देखिएको बताइन्छ।