टी-२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट: नेपाल भएकै समूहमा जापान र कुवेत

0 Shares

आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार ९ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी, ओमान, कुवेत, मलेसिया, यूएई, कतार, जापान र समाओ सहभागी हुनेछन्। तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ। यो समूहमा नेपालसँगै कुवेत र जापान छन्।

प्रत्येक समूहमा तीन टिम रहने गरी सहभागी नौ टिमलाई आईसीसीले तीन समूहमा विभाजन गरेको छ। जसअनुसार समूह(१ मा यूएई, मलेसिया र कतार छन्। समूह(३ मा ओमान, पीएनजी र समाओ छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ। यसपछि अक्टोबर १० मा जापानविरुद्ध खेल्नेछ।

 

प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर–६ मा प्रवेश गर्नेछन्। शीर्ष तीन टिमले सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा खेल्नेछन्।