गाउँपालिका अध्यक्षको आग्रह: जङ्फुड जन्य वस्तु नखानुस्

0 Shares

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईले वडावासीहरुसँग जङफुड जन्य खानेकुराहरु नखान आग्रह गर्नु भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा भत्ता बुझ्न आउनुहुने सेवाग्राहीहरुलाई अध्यक्ष राईले सो आग्रह गर्नु भएको हो ।

गाउँपालिकाले सम्वन्धित वडा मार्फत नै सामाजिक सुरक्षा भत्ता बितरणको कार्यक्रम सुरु गरेको छ । पालिकाले आठ वटा वडाहरु मध्ये एक नम्वर ओख्रेका एक सय ६८ र दुई नम्वर धोद्लेखानीमा एक सय २४ जनालाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरि सकेको छ भने मंगलवार वडा नम्वर तीन भुल्केमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको वडाध्यक्ष रामु थापा मगरले बताउनुभयो ।

पालिकामा रहेको एनआईसी बैकसँगको समन्वयमा संचालन भई रहेको भत्ता बितरण शिविरमा पुगेर गाउँपालिका अध्यक्ष राईले नागरिकहरुलाई सचेत गर्दै स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नु भएको हो । गाउँपालिका अध्यक्ष राइले भन्नुभयो, “म आफु पनि खाँदिन, तपाईहरुको स्वास्थ्यमा सुधार आएको हामी हेर्न चाहन्छौ, अस्वस्थकर कोक ड्यु जस्ता जङ्फुड जन्य वस्तु नखान र स्वस्थ्यकर जिवन जिउन तपाईहरुलाई अनुरोध गर्छु ।” जाँडरक्सी तथा जङफुड नखाउ बरु दही मही खाउँ ।

गाउँपालिका अध्यक्षले सामाजिक सुरक्षा भत्ता बितरण हुने प्रत्येक वडाहरुमा पुगेर वडावासी नागरिकलाई स्वस्थ्य जिवन जिउन आग्रह गर्नु भएको हो । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकावासी नागरिकहरुको स्वास्थ्यको ख्याल गर्दै आफुले सकारात्मक सन्देश सामाजिक सुरक्षा भत्ता बितरणमा दिएको हुँ । स्वस्थ्यकर खानाको प्रयोग गर्न मेरो आग्रह हो ।”