सबै खाले उपाय लगाएर दसैँअघि नै राजमार्गको विकल्प खुलाइने
माई खोला सम्म आईपगेका यात्रु हिनेर राज दुवालीको पहिरो कटेपछि अर्को गाडी मार्फत इलाम बजार सम्म आएका छन् । लगातार परिरहेको पानीले माई खोलाको पुल नजिकै सडक भत्किएपछि सडक डिभिजन कार्यालयले आवत जावत खुलाउन सडक मर्मत गरिरहेको थियो । सडक मर्मत भईरहेपनि पहिरोका कारण सडक चुँडिएको र राजमार्ग बन्द भएको हो ।
उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले अझै एक हप्ता झरी पर्छ भनेर मौसम विदले पूर्व जानकारी गराउँदा गराउँदै हलुका सवारी चलिरहेको सडकमा यस्तो प्रतिकुल मौसममा पनि दुई सय २० को हेव्भि चेनवाला मेसिन प्रयोग गरेर सडकको तल्लो खण्ड कोट्याएको कारण सडक अवरुद्ध बनेको बताए । उक्त खण्ड खोल्नका काम भइरहेको भए पनि त्यहाँको अवस्था हेर्दा तत्काल सडक खुल्ने सम्भावना नरहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई बताउँछन् ।
दसैँअघि नै खुलाइने
इलाम जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मेची राजमार्गको क्षतिग्रस्त राजदुवाली–गोला खर्क खण्डको विकल्पका रूपमा सबै खाले उपाय लगाएर दसैँ अघि नै खोल्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले इलाम नगरपालिका १० को गोदक सिमल गोलाईबाट तिल्केनी जोडिने गरी सडक सुविधाजनक बनाउने निर्णय गरेको हो ।
विकल्पको रूपमा सडक निर्माण गर्दा उक्त सडकमा पर्ने जोगमाई खोलामा बेली ब्रिज राख्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । राजदुवाली खण्डमा सडक निर्माणको सम्भावना नभएपछि विपद् व्यवस्थापन समितिले दसैँ अघि नै वैकल्पिक मार्ग खोल्ने निर्णय गरेको हो ।
त्यस्तै विपद् व्यवस्थापन समिति बैठकले बाढी पहिरोले अस्तव्यस्त बनेको सन्दकपुर गाउँपालिकाको वडा नम्बर २ (माइमझुवा)लाई ’सङ्कटग्रस्त वडा’ घोषणाका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।