मौसम विज्ञान विभागले अबको २४ घण्टा देशका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ । यससँगै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दर्जन भन्दा बढी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागको प्रक्षेपणअनुसार बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना छ।
यसैगरी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
मौसमी प्रणालीको सम्भावित असरलाई ध्यानमा राख्दै प्राधिकरणले पाँच प्रदेशका विभिन्न जिल्लाहरूलाई विशेष सचेत रहन सूचित गरेको छ। सचेत रहनुपर्ने जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा रहेका छन्।
त्यस्तै, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही; बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवालाई पनि सतर्क रहन भनिएको छ। यसैगरी गण्डकी प्रदेशका गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित वर्षा र हिमपातले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रभाव पार्न सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गरेको छ। जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिएर आवश्यक परेमा सर्नका लागि तयार रहन र नदी किनारका बासिन्दालाई हरबखत सचेत रहन भनिएको छ।