काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालोपालो बत्ती काट्ने भएको हो ।
प्राधिकरणका अनुसार शनिबार (आज) भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
आइतबार (भोलि) लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, र्याडिसन होटेल, लाजिम्पाट मूल सडक तथा आसपासका क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।