राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमाबारेको अभिव्यक्तिमा विपक्षीले प्रश्न उठाएकोप्रति गम्भीर आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्तिबारे भारतको संसद्मा कुरा नउठेको बताए ।
“यो शब्द तपाईंहरूले कसका लागि बोलिराख्नुभएको छ ? यो दिल्लीको संसद्मा उठ्नुपर्ने हो । यदि प्रधानमन्त्रीले भनेको कुरामा भारत सरकारको आपत्ति थियो भने भारत सरकारको संसद्ले बोल्ने कुरा प्रतिपक्षले किन बोल्छ बारबार ? यसमा हाम्रो घोर आपत्ति छ ,” चौधरीले भने ।
उनले विगतमा ‘नुन खाएको’ भाषा बोल्नुभएको त होइन भनि प्रतिपक्षीलाई आरोप लगाए । “कतै विगतमा नुन खाएको कुरा उठाउनुभएको त होइन ? होइन भने जुन भाषा बोल्नुभएको छ । त्यो भाषा बन्द होस् सभामुख महोदय,” चौधरीले भने, “यसले देशलाई, सरकारलाई कसैलाई पनि हित गर्दैन ।”
उनले कार्यपालिका र व्यवस्थापिकाको आफ्नै मान्यता रहेको सुनाए । “संसद् र सरकारबीच जुन अवस्था सिर्जना भएको छ । मरेको घोडालाई लात्तिले हिर्काएको जस्तो अवस्था आउनु दुःखद हो,” उनले भने ।
उनले दुई महिनादेखि एउटै कुरा गरेको भनि संवेदनशील कुरा उठाउँदा ध्यान पुर्याउन आग्रह गरे । “सेन्सेटिभ कुरा हुन् । निरन्तर त्यही कुरा संसदभित्र उठाइरहँदा त्यसले राज्यलाई, देशलाई के फाइदा पुर्याउँछ सोचौँ,” उनले भने ।
परराष्ट्रमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीको कुरामा क्रस ब्रोडरको विषय भएको धारणा राखेको सुनाए । त्यसपछि पनि उनले विपक्षीले रास्वपाका सांसदलाई राष्ट्रवादी हो कि होइन भनेर प्रश्न उठाएकोमा आपत्ति जनाए ।
“उहाँहरूले तपाईंहरू राष्ट्रवादी हो कि होइन भन्नुहुन्छ । तपाईंहरूको सार्वभौमिकता के हो भन्नुहुन्छ,” उनले भने, “जुन कुरालाई मेजर गर्न सकिँदैन त्यो कुरामा प्रश्न नगर्नुस् । तपाईंहरूले देख्नुभएको छ कहिल्यै ? राष्ट्रवाद, देशभक्ति त्यसको रंग कस्तो छ ? त्यसको आकार कस्तो हुन्छ ?”
उनले आपसी समझादारीमा बसेर द्विविधा मेटाउन आग्रह गरे ।