काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ ।
लागूऔषध तस्करी गरेको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरेर मादुरोलाई न्यूयोर्क ल्याइएको थियो । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो ।यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ । यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन आधारका रूपमा प्रयोग गरेको बताइएको छ ।
ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा मादुरो
मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ ।
सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३०० कैदी छन् ।
म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्राय: यहीँ राखिने गरिन्छ । यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त, लागूऔषध तस्करका आरोपीसमेत राखिन्छन् ।
ब्रुकलिनको डिटेन्सन सेन्टरमा राखिने पहिलो राष्ट्रपति होइनन् मादुरो
ब्रुकलिनस्थित डिटेन्सन सेन्टरमा राखिने मादुरो पहिलो राष्ट्रपति भने होइनन् । यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेजलाई पनि यहीँ राखिएको थियो । उनीमाथि अमेरिकामा सयौं टन कोकिन तस्करीको अभियोग लागेको थियो ।
दोषी ठहर भई ४५ वर्षको सजाय सुनाइएपछि उनलाई गत डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएर रिहा गरेका थिए ।
हाल यसै कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह-संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन् ।
यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेल पनि यही कारागारमा राखिएका थिए ।