५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

0 Shares

काठमाडौँ — नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० दरका ४२० मिलियन अर्थात् ४२ करोड नोट छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ती नोट सुरक्षित तरिकाले छपाइ गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो। बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट हुनेछ। प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्न भनिएको छ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा अमेरिकी डलर १४६, यूरो १२६ र पाउन्ड १०९ निर्धारण गरिएको छ। बोलपत्र दस्ताबेज खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।

बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते तोकिएको छ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानत पत्र संलग्न गर्नुपर्ने उल्लेख छ।

नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ।