काठमाडौँ । राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत उक्त विधेयकलाई स्वीकृत गरिएको घोषणा गरे।
विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार क्षेत्रमा क्रान्ति भएको बताए। उनले तिलगङ्गा नेत्र विश्वविद्यालय आँखा उपचारलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनका लागि आवश्यक रहेको भन्दै यसको स्थायित्वमा जोड दिए। सांसद भट्टराईले नेत्र विशेषज्ञ डा। सन्दुक रुइतले नेत्र उपचारको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा पनि गरे।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डा। सन्दुक रुइतले एक लाखभन्दा बढी आँखाको निःशुल्क शल्यक्रिया गरेर महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनको नेतृत्वमा तिलगङ्गा नेत्र विश्वविद्यालय खोल्नु प्रशंसनीय कार्य रहेको बताए। सांसद विमला सुवेदीले तिलगङ्गा नेत्र विश्वविद्यालय खोलेर दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताइन् र एउटै किसिमका विश्वविद्यालयमा फरक(फरक मापदण्ड रहेकाले छाता ऐनको निर्माण आवश्यक रहेको औंल्याइन्। सांसद वासुदेव घिमिरेले विधेयकको समर्थन गर्दै नेपाललाई नेत्र स्वास्थ्यको आकर्षक ुहबु का रूपमा विकास गर्न जरुरी रहेको धारणा राखे। छलफलमा अन्य थुप्रै सांसदहरूले पनि भाग लिएका थिए।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले दक्षिण एसियामा नेत्र उपचारको सम्भावना नेपालमा देखिएको भन्दै तिलगङ्गा नेत्र विश्वविद्यालयले आँखा रोगीहरूलाई छिटोछरितो, सरल, सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले विधेयकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र आँखा उपचारमा के(के सम्भावना छन् भन्नेबारे डा। रुइतसँग गहन छलफल भएको जानकारी दिए। मन्त्री पन्तले विश्वविद्यालयको स्थापना र सञ्चालन सम्बन्धमा आधार र मापदण्ड निर्धारण गर्ने विषयमा छाता ऐनको मस्यौदा पनि तयार भइसकेको र मस्यौदालाई यसै वर्ष संसद्मा दर्ता गर्ने सरकारको तयारी रहेको बताए।
पन्तले नेपालको दुर्गम क्षेत्रमा बसोबास गर्ने आँखाका रोगीमध्ये ६५ प्रतिशत नागरिकलाई मोतीविन्दुको समस्या रहेको उल्लेख गर्दै आँखा उपचारको क्षेत्रमा दक्षिण एसियामा अगाडि बढ्ने सम्भावना नेपालको रहेको बताए। उनले विश्वविद्यालय स्थापना हुँदा नेपालीलाई मात्रै दक्ष र शिक्षित बनाउने नभई विश्वका अन्य देशका विद्यार्थी पनि अध्ययनका लागि आकर्षित हुने सम्भावना रहेको र नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सम्भावनाको रूपमा रहनसक्ने धारणा राखे।
प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १९ गते दिउँसो १ बजे बस्नेछ।