साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई पछ्याउँदै नेपाल

0 Shares

काठमाडौँ — महिला साफ यू–२० च्याम्पियनसिप अन्त्यतिर अगाडि बढ्दा अपेक्षाअनुसार प्रतियोगिताको अन्तिम खेलले नै उपाधिको निर्णय हुने भएको छ । अहिलेका लागि भने उपाधिमाथि बंगलादेशको पकड बलियो छ । घरेलु टोलीलाई पछ्याउने काम गरिरहेको छ नेपालले ।

ढाकामा भइरहेको प्रतियोगितामा बिहीबार सबैभन्दा पहिले नेपालले श्रीलंकालाई ७–० ले हराएको थियो ।

त्यसपछि बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्‍यो । यो नतिजापछि बंगलादेश लगातार चौथो जितसहित १२ अंक लिएर शीर्षस्थानमा पुग्यो । नेपाल भने ३ जित निकाल्दै ९ अंकसहित दोस्रोमा छ । नेपालको एकमात्र हार बंगलादेशसँग नै बेहोरेको हो । डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा अब नेपालले भुटान र बंगलादेशले श्रीलंकाको सामना गर्नेछ ।

प्रतियोगिताको अन्तिम दिन सबैभन्दा पहिले भुटान र श्रीलंका भिड्नेछन् । त्यसपछि त्यही अघोषित फाइनलको पालो आउने छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको दिनको पहिलो खेलमा नेपाललाई सजिलो जित दिलाउन कुसुम खतिवडा र समिक्षा मगरले २–२ गोल गरेका थिए । पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले १–१ गोल गरे । त्यसमध्ये बिर्सनाको गोल पेनाल्टीबाट सम्भव भएको हो ।

एक अर्को पेनाल्टी अवसरमा नेपालका लागि अनिशा राई गोल गर्न चुकिन् । बंगलादेशले भुटानमाथि हात पारेको जितमा भने श्रीमोति तृष्णा रानीले २ गोल गरिन् भने अर्को गोल सपना रानीको नाममा रह्यो । भुटान एक जित र तीन हारसहित ३ अंक लिएर तेस्रो स्थानमा छ । श्रीलंका भने अहिलेसम्म आफूले खेलेका सबै चारै खेलमा पराजित छ । टोली सहभागी चार टिममध्ये सबैभन्दा पुछारमा छ ।

श्रीलंकामाथिको जितपछि प्रतिक्रिया दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक याम गुरुङले भनेका छन्, ‘हामी अहिले ९ अंकको स्थितिमा छौं । आज हाम्रो खेल राम्रो रह्यो, बलमाथि नियन्त्रण बढी थियो । अगाडि आक्रमण पनि बढी नै रह्यो । अहिले टिमले निर्माण गर्ने अवसरमा गोल भइरहेको छ । यसले विपक्षीलाई को अग्रपंक्ति र को रक्षापंक्तिको खेलाडी हो भनेर छुट्याउन गाह्रो भएको छ ।’

उनले बंगलादेशविरुद्धको खेल नै निर्णायक हुने स्वीकार्दै त्यसअनुसार अबको खेलमा रणनीति तयार हुने पनि बताए । टिमका प्रमुख खेलाडी मीना देउवाले भने टिम एकढिक्का भएर खेलेको हुनाले श्रीलंकामाथि सजिलो जित निस्केको दाबी गरिन् । उनले भनिन्, ‘अबका खेलमा जुनसुकै प्रतिद्वन्द्वी भए पनि जित्ने आत्मविश्वास बढेको छ । हामी यसका लागि सक्षम पनि छौं ।’