क्रिकेट जगतमा शोक: महान् अलराउन्डर सर गारफिल्ड सोबर्सको निधन

0 Shares

ब्रिजटाउन (बार्बाडोस), साउन २, २०८३ / जुलाई १७, २०२६

विश्व क्रिकेटका महान् अलराउन्डर तथा वेस्ट इन्डिजका पूर्व कप्तान सर गारफिल्ड (ग्यारी) सोबर्स को ८९ वर्षको उमेरमा निधन भएको छ। क्रिकेट वेस्ट इन्डिजले उनको निधनको पुष्टि गरेको हो।

क्रिकेट इतिहासका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने सोबर्सले सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि ९३ टेस्ट खेल खेले। उनले टेस्ट क्रिकेटमा ८,०३२ रन बनाउनुका साथै २३५ विकेट लिएका थिए। सन् १९५८ मा पाकिस्तानविरुद्ध अविजित ३६५ रनको कीर्तिमानी इनिङ्स खेलेका उनले सन् १९६८ मा प्रथम श्रेणी क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए।

उनको निधनपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC), क्रिकेट वेस्ट इन्डिज, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) लगायत विश्वभरका क्रिकेट संस्था तथा पूर्व–वर्तमान खेलाडीहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।

बार्बाडोस सरकारले उनको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेको छ भने राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

सर गारफिल्ड सोबर्सलाई क्रिकेट इतिहासका सबैभन्दा पूर्ण खेलाडीमध्ये एक मानिन्छ। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा असाधारण क्षमता प्रदर्शन गरेका उनले विश्व क्रिकेटमा अमिट छाप छोडेका छन्। उनको योगदान र कीर्तिहरूले आगामी पुस्ताका क्रिकेटरहरूलाई सधैं प्रेरणा दिइरहनेछन्।