वेस्ट इण्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । यही २१ जुलाईदेखि घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुन लागेको पहिलो दुई टी–२० खेलपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिन लागेका हुन् ।
३७ वर्षीय रसेलले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले आफ्नो १३ वर्षे करियरमा एक टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० आई खेलेका छन् । पछिल्लो वर्षहरूमा रसेल वेस्ट इण्डिजका लागि टी–२० फर्म्याटमा मात्र सक्रिय थिए ।
उनको सन्यास सन् २०२६ मा भारत र श्रीलंकामा हुने आगामी टी–२० विश्वकपभन्दा झण्डै सात महिनाअघि आएको हो, जसले धेरै क्रिकेटप्रेमीलाई चकित बनाएको छ । रसेल सन् २०१२ र २०१६ को टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए ।
विशेषगरी सन् २०१६ को फाइनलमा भारतविरुद्ध निर्णायक क्षणमा बल र ब्याट दुवैमा उनले देखाएको प्रदर्शन प्रशंसनीय रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भए पनि उनी व्यावसायिक लिगमा भने सक्रिय रहने छन् । हालै मात्र वेस्ट इण्डिजका अर्का आक्रामक ब्याटर निकोलश पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।