एजेन्सी – जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ ।
हरारे स्पोर्टस क्लबमा बुधवार न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८।२ ओभरमा १ सय ५२ रनमा समेटियो ।
दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रन बनाए । जर्ज लिन्डे २० बलमा १ चौका र २ छक्काको सहयोगमा ३० रनमा पेभिलियन फर्किए ।
लौहान डि प्रिटोरियस १७ बलमा ६ चौकाको सहयोगमा २७ र जेरार्ड कोट्जे १७ रनमा आउट भए । न्युजिल्याण्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको बनायो।
न्युजिल्याण्डका टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।
टिम साइफर्ट २२ रनमा आउट भए । छैटौं विकेटका लागि रोबिन्सनले बिभोन ज्याकोब्ससँग १ सय ३ रनको शतकीय साझेदारी गरे । ज्याकोब्सले ३० बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित ४४ रन बनाए ।
दक्षिण अफ्रिकाका क्वाना मफाकाले २ तथा जेरार्ड कोट्जे, सिनुरन मुथुस्वामी र लुंगि एन्गेडीले समान १ विकेट लिए ।
दक्षिण अफ्रिकासँग समान २ अंक बनाएको न्युजिल्याण्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । घरेलु टोली जिम्बाब्व अंकबिहिन छ ।
सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्याण्ड र जिम्बाब्वेको बीचमा हुनेछ ।