काठमाडौँ — प्रेस काउन्सिल नेपालले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
काउन्सिलमा हाल अध्यक्ष नियुक्त भएका छैनन्। आइतबार बसेको बैठक सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको थियो। बैठकले पत्रकार र प्रेसका विषयमा अदालतमा पुगेका विषय, कतिपय पत्रकारबाट भएका प्रेस स्वतन्त्रता दुरुपयोगका गतिविधि र प्रेसमा देखिएका आर्थिकलगायत विभिन्न सङ्कटका विषयमा छलफल भएको थियो।
बैठकले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहींकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए।
त्यस्तै, पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिता पालना र प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गर्दै तालिमरप्रशिक्षणरअभिमुखीकरणमार्फत पत्रकारहरूलाई यसप्रति ध्यानाकर्षण गराइरहने बैठकले निर्णय गरेको छ। पत्रकार आचारसंहिता अभिमुखीकरणका लागि विज्ञ(सूची अद्यावधिक गर्ने, काउन्सिलको क्षेत्राधिकारअनुसार आगामी चार वर्षका लागि कार्ययोजना बनाएर अगाडि बढ्ने र पत्रकार आचारसंहिता, सञ्चार निर्देशिकालगायत काउन्सिलका कार्यविधिहरूमा संशोधनका विषयमा छलफल गर्दै जाने निर्णय गरेको छ।
त्यस्तै, बैठकले लामो समयदेखि संशोधन हुन नसकेका प्रेस काउन्सिल ९कार्यव्यवस्था० नियमावली, आर्थिक प्रशासन विनियमावली, प्रेस काउन्सिल कर्मचारी विनियमावली संशोधनका लागि थप पहल गर्ने र काउन्सिललाई अझ बलियो बनाउन सामूहिक धारणा बनाएर संस्थागत रूपमा एकद्वार प्रणालीबाट निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरेको छ ।
आइतबारको बैठकमा बोर्ड सदस्यहरू कुमारी निमा काफ्ले, केशवशरण लामिछाने, नकुल अर्याल, पदमराज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, शन्तराम बिडारी र सदस्य सचिव मिनकुमार शर्मा उपस्थित थिए।