भारत–इङ्गल्याण्ड टेष्ट रोमाञ्चक मोडमा, विकेट जोगाउन भारतलाई सकस

0 Shares

काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेट लण्डनमा जारी रहेको छ । जितका लागि भारतले जम्मा १९३ रनको चुनौती पछ्याइरहेको छ ।

तर लगातार विकेट गुमाउँदै गएसँगै भारतलाई सकस परेको छ । भारतले चौथो दिनको समाप्तिसम्म ४ विकेट गुमाएर मात्र ५८ रन जोडेको छ । पहिलो इनिङ्समा शतक बनाएर केएल राहुल ३३ रनमा अविजित छन् । उनलाई आज पाँचौँ तथा अन्तिम दिन ऋषभ पन्तले साथ दिनेछन् ।

भारतले जित हासिल गर्न यी दुईबीच राम्रो साझेदारी अनिवार्य छ । भारतलाई जितका लागि पाँचौँ दिन अझै १३५ रन जरुरी छ ।

यसअघि पहिलो इनिङ्समा समान ३८७ रन बनाएकामा दोस्रो इनिङ्समा इङ्गल्याण्ड ६२।१ ओभरमात्र क्रिजमा टिकेर १९२ रनमै समेटियो ।

जो रुटले सर्वाधिक ४० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा वासिंगटन सुन्दरले ४ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले २–२ विकेट लिए । नितिशकुमार रेड्डी र आकाश दीपले १–१ विकेट लिए ।

यसअघि लण्डनको मैदानमा टस जितेर इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै ३८७ रन बनायो ।इङ्गल्याण्डका लाग जो रुटले १०४ रन बनाए । ब्राइडन कार्सले ५६ तथा जमाइ स्मिथले ५१ रन जोडे ।

जसप्रित बुमराहले ५ तथा मोहम्मद सिराज र नितिशले समान २–२ विकेट लिए ।

जवाफमा भारतले पनि समान ३८७ रन बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ तथा रविन्द्र जडेजाले ७२ रन बनाए ।

यसअघिका खेलमा १–१ को बराबरी भएको छ ।