त्रिभुवन विश्वविद्यालयमा भएको उपकुलपति नियुक्तिप्रति सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले आपत्ति जनाएको छ ।
नेविसंघले विश्वविद्यालयको नेतृत्व चयनमा मेरिटोक्रेसीको उपेक्षा गर्दै स्वेच्छाचारी ढंगले नियुक्ति गरिएको आरोप लगाएको छ ।
बुधबार साँझ जारी विज्ञप्तिमा नेविसंघका सभापति विष्णु बडैलाले प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीद्वारा प्रा।डा। दीपक अर्यालको नियुक्तिलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् ।
‘विश्वविद्यालयहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको वर्तमान सन्दर्भमा प्रधानमन्त्रीज्यूले कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षता नहेरी नियुक्ति गर्नु गम्भीर आपत्तिको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघले शैक्षिक संस्थामा नेतृत्व चयन प्रक्रियामा पारदर्शिता, योग्यता र दीर्घकालीन दृष्टिकोणको खाँचो औंल्याउँदै त्रिविको नेतृत्व चयनमा भएको निर्णयले विश्वविद्यालयको स्वायत्तता, शैक्षिक गुणस्तर र संस्थागत भरोसामा गम्भीर असर पार्ने चेतावनी दिएको छ ।