कांग्रेससँगको बढ्दो हिमचिमले रा.स्व.पा. भित्र खैलाबैला, रविको रहस्यमयी मौनता

0 Shares

काठमान्डौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्वित सांसद रवि लामिछाने तथा उनले नेतृत्व गरेको राष्‍ट्रिय स्वतन्त्र पार्टीमा विगत केही समय देखि रहस्यमयी रुपमा मौनता देखिएको छ । उक्त दल तथा त्यसको नेतृत्व माथि हाल राजावादीहरुको आन्दोलन, ठुला पार्टीहरुको रवैया, नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप, संविधान संशोधन लगायतका तमाम् मुद्दाहरुमा दलको धारणा सार्वजनिक गर्न आन्तरीक तथा बाह्य दवाव चरम रुपमा उठिरहेको छ । उक्त दलका सभापति एवं अन्य नेतृत्वले नै आधिकारीक रुपमा धारणा सार्वजनिक गर्न नसकिरहेको अवस्था छ।

पार्टीको यसप्रकारका गतिविधिका लागि रा.स्व.पा. भित्र खासगरी रवि लामिछानेको किचेन क्याबिनेट ईतरको समुहमा चरम असन्तुष्टी रहनुका साथै सभापतिले कतै धमिलो पानीमा आफ्नो ब्यक्तिगत मुद्दालाई पखाल्नका लागि पुराना राजनितिक पार्टीहरुसँग अपवित्र लेनदेनको राजनीतिमा लागेको त होईन भनि पार्टी भित्र भुसको आगोसरी विवाद बढेको स्रोतले बताएको छ।

गत शुक्रवार पार्टीले आयोजना गरेको काठमाण्डौमा उपलब्ध केन्द्रिय सचिवालयका सदस्यहरु सँगको छलफलमा खासगरी पुर्व कांग्रेसी पृष्ठभुमीका नेताहरुले पार्टीले नीतिगतरुपमा राजतन्त्र र गणतन्त्रका विषयमा उठिरहेको विषयका सम्वन्धमा आफ्नो धारणा सार्वजनिक गरी कित्ताकाट गर्नुपर्ने, संविधान संशोधनका विषयमा पार्टीको रोडम्याप सार्वजनिक गर्नुपर्ने, भ्रष्टाचार लगायतका मुद्दाहरुमा पार्टी पङ्तीमा छलफल गरी स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने विचार उठेको अवस्था छ।

साथै, पुर्व कांग्रेसी पृष्ठभुमी रहेका सदस्यहरुलाई कांग्रेसका नेताहरुसँग हिमचिम तथा भेटघाट बढीरहेको देखिन्छ। यी तमाम् विवादहरुको पछाडीको कारण यस मिडियाले बुझ्ने प्रयास गर्दा पार्टीले यही बैशाखमा आयोजना गर्ने भनि घोषणा गरेको महाधिवेशन स्थगीत गर्ने निर्णय गरेको हुँदा नेतृत्वसँग आम पार्टी पङ्ती चरमरुपमा असन्तुष्ट रहेको भनि आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा पार्टीका एक केन्द्रिय सदस्यले बताएका छन्।

राष्‍ट्रिय स्वतन्त्र पार्टीमा अधिकांस नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पृष्ठभुमीका छन्। उपसभापति स्वर्णिम वाग्ले, का. प्रवक्ता मनिष झा, शिशिर खनाल लगायतका नेताहरुको पृष्ठभुमी कांग्रेस देखिन्छ। गगन थापा उग्ररुपमा मुलत: सभापति रवि लामिछानेको विरुद्धमा रहँदा नेपाली कांग्रेसका नेता शेखर कोईराला भने रा.स्व.पा. प्रति नरम भएको देखिन्छ।यदि, रवि लामिछाने उपर लागेको मुद्दाले पार्टी नेतृत्वलाई असहज भएको अवस्थामा अधिकांश नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसतर्फ नै फर्किने आंकलन जनमानसमा रहेको देखिन्छ।

पार्टी नेतृत्व चीर कालसम्म महाधिवेशन एवं आन्तरिक संवाद नगरी एकपक्षीयरुपमा निर्णय गरी अगाडी बढ्ने नीति संस्थापन पक्षले निरन्तर लिएमा पार्टीमा विवाद अझै बढ्ने समेत आँकलन गरिएको छ।

तसर्थ, छोटो समयमा वैकल्पिक राजनीतिक मुद्दा लिई उदयीमान राजनितिक दल आन्तरिक ब्यवस्थापनको कमि र राजनीतिक अनुभवको अभावका कारण र सभापति रवि लामिछानेले विभिन्न मुद्दामा जेलीएका कारण अधिकांश रा.स्व.पा.नेता तथा कार्यकर्ता नेपाली कांग्रेस निकट हुन थालेको अनुमान लगाउन थालिएको छ।
यता नेपाली कांग्रेसका नेताहरु विशेषगरी गगन थापा, विश्‍व प्रकाश शर्मा, शेखर कोईरालाहरुले रवि लामिछाने बाहेकका अन्य नेता कार्यकर्ताहरुलाई पुनः पार्टी भित्रै फर्काउनको लागि भेटघाट बढाईरहेको अवस्था रहेको छ भन्ने स्रोतको दावी छ।

अव शेर बहादुर पुनः सभापति हुन नसक्ने भएपश्चात पुस्तान्तरण हुँदा र नयाँ नेतृत्व कांग्रसमा आउने र रा.स्व.पा. भने सभापतिको मुद्दाका कारण नेतृत्व विहिन हुने संभावना यथावत रहेको हुँदा रा.स्व.पा मा तिव्ररुपमा चलिरहेको हुँदा उक्त पार्टीका नेतृत्व चरम दवावमा रहेको हुनसक्ने स्रोतले बताएको छ।