
काठमाडौं । दीपक मनाङ्गे भनी चिनिने गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले ज्यान मार्ने उद्योगमा गुरुङलाई कैद सजाय सुनाइएको जानकारी दिए।
मनाङ्गेविरुद्ध चक्रे मिलन भनिने गुन्डानाइके मिलन गुरुङमाथि विसं २०६१ मा काठमाण्डूको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
यसअघि तल्लो अदालतबाट दोषी ठहर भएका मनाङ्गेले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए।
“नेपाल सरकारलाई विपक्षी बनाएर दर्ता भएको पुनरावेदनमा ज्यान मार्ने उद्योगमा उच्च अदालतको फैसला सदर हुने फैसला भएको हो,” कुइँकेलले भने।
न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले मनाङ्गेलाई दोषी ठहर गरेको हो।
गण्डकी प्रदेशमा पटकपटक मन्त्री भएका गुरुङलाई यसअघि तत्कालीन पुनरावेदन अदालतले कानुनी भाषामा ुज्यान मार्ने उद्योगु भनिने हत्या प्रयासमा दोषी ठहर गरेको थियो।
त्यसविरुद्ध उनले विसं २०७५ चैत ३ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेका थिए।