छठ पूजाका लागि दुलही झैँ सिंगारिए वीरगञ्जका पोखरी

0 Shares

वीरगञ्ज– यस वर्ष छठ पर्वको मुख्य दिन यही कार्तिक २२ गते बिहीवार कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

हिन्दूहरुको महान पर्व छठको अवसर पारेर वीरगञ्जका विभिन्न पोखरी तथा नदी घाटलाई दुलही झैँ सिंगारिएको छ । वीरगञ्ज महानगरपालिका भित्रका एक दर्जन बढी स्थानहरुमा रहेका घाटलाई यसरी सिंगारिएको हो ।

वीरगञ्जमा प्रायः घरनजिकैको पोखरी तथा छठ घाटमा गएर छठ पूजा गर्ने चलन छ । त्यसैले स्थानिय वासिन्दाहरुले आ–आफ्नो घरनजिकै रहेका पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पारिरहेका छन् ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । मेयर सिंहले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी तथा परसवाको छठघाटमा विशेष सजावट गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढङ्गले झकिझकाउ गर्ने काम भइरहेको छ ।

वीरगन्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने बताँछन् ।

कानुका अनुसार घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गरिएको छ । कानुले नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायतका ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने बताएका छन् ।

समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलिमिलीले पनि अवलोकनकर्ताको मन जित्ने बताउँछन् । विगत २२ वर्षदेखि घडीअर्वा पोखरीमा छठी माताको पूजाअर्चना गर्दै आइरहेको बताउँदै कानुले छठ पूजामा घडीअर्वा पोखरीको सजावटमा कुनै पनि प्रकारको सम्झौता गरिँदैन । झिलिमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढङ्गले सिँगारिएको छ । समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ ।

तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ ।