प्रभावितलाई तत्काल राहत वितरण गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

0 Shares
काभ्रे — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साता वर्षाले निम्त्याएको विपद्‌बाट प्रभावितलाई तत्काल राहत वितरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मन्त्री पौडेलले शनिबार काभ्रेको पनौती नगरपालिका-१२ स्थित रोशीको स्थलगत अनुगमन गर्दै बाढी र पहिरोले यस क्षेत्रमा निकै नै प्रभाव पारेको र प्रभावितलाई चाँडोभन्दा चाँडो राहत वितरणको व्यवस्था गर्न आवश्यक भएको बताए ।

वास्तविक प्रभावितहरु पहिचान गरी पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्नुपर्ने उनको भनाइ छ । ‘यस ठाउँमा मानवीय र भौतिक रुपमा धेरै नै क्षति भएको देखिएको छ,’ उनले भने, ‘गाँस–बास–कपासको व्यवस्थापनका लागि राहत वितरण कार्यलाई तीव्र बनाउनु आवश्यक छ ।’

साथै पूर्वाधार विकासमा पनि धेरै क्षति भएकोले त्यसको पुनर्निर्माणमा पनि उनले जोड दिए । ‘यहाँ विद्युत्, सञ्चार, खानेपानी लगायतका सेवा अवरुद्ध छ’, उनले भने, ‘यहाँ पूर्वाधारमा क्षति हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ, सडक बाटो, बत्ती, सञ्चार नहुँदा पनि स्वास्थ्य सेवा प्रवाहमा असहज भएकाले पूर्वाधार विकास र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राख्न आवश्यक देखिन्छ ।’

उनले लगत संकलन गरेर क्षतिको विवरण प्राप्त भएपछि प्रदेश, स्थानीय र संघीय सरकारको समन्वयमा विकासलाई तीव्रता दिने आश्वासन समेत दिए ।

मन्त्री पौडेलले जिल्लास्थित धुलिखेल अस्पतालमा बाढी र पहिरोमा परी घाइते भएका बिरामीहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका थिए ।