न्युजिल्यान्ड १० विकेटले विजयी

0 Shares

मुम्बई — न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ मा मंगलबार लगातार दोस्रो जित निकालेको छ र समूह डी को शीर्षमा उक्लेको छ ।

सुरुआती दुई खेलबाट चार अंक बटुल्ने क्रममा न्युजिल्यान्डले यूएईमाथि चेन्नाईमा प्रभावशाली १० विकेटको जित रचेको हो । यो नतिजाले न्युजिल्यान्डको सुपर एटमा प्रवेशको सम्भावना बलियो बनेको छ ।

जितका लागि १ सय ७४ रन पछ्याएको न्युजिल्यान्ड विना विकेट क्षति १५.२ ओभरमा १ सय ७५ रन बनाएको थियो । त्यसमा टिम सेफर्टले ८९ र फिन एलेनले ८४ रन बनाए । उनीहरूले सानदार नटआउट साझेदारी गरेका हुन् । सेफर्टले ४२ बलको सामना गरेर १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै, एलेनले ५० बलमा ५ चौका र ५ छक्का नै प्रहार गरे ।

त्यस अगाडि यूएईले समूह डी को खेलमा पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७३ रन बनाएको थियो । यूएईका लागि सरफुले ४७ बलमा ५५ रन बनाए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । वासिमले भने नटआउट रहेर ६६ रन बनाए । उनको ४५ बलको इनिङ्समा ४ चौका र ३ छक्का सामेल थियो । उनीहरूले दोस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरे । यूएईको यो प्रतियोगितामा पहिलो खेल हो ।