जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

0 Shares

काठमाडौँ — नेपाल प्रिमियर लिगको फ्रेन्चाइज क्रिकेट टोली जनकपुर बोल्ट्सले शुक्रबार नयाँ लोगो सार्वजनिक गरेको छ । मधेश प्रदेशको क्रिकेट प्रेम र संस्‍कारको प्रतिबिम्व बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावना समेट्ने विश्वास बोल्टले लिएको छ ।

यसले जनकपुर बोल्ट्समात्र टिम होइन, मधेशका जनता, उनीहरूको पहिचान र क्रिकेटप्रतिको आत्म स्वाभिमानको प्रतीक बन्ने अपेक्षा च्याम्पियन टोलीको छ । ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको थियो ।

जनकपुरले आफ्नो पहिचानअनुरुप लिगेसी राखेको जनाएको छ । लाहिरु मिलान्थाले फाइनलमा ४९ बलमा ८७ रन बनाएपछि जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । बोल्ट्सका ललित राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मोस्ट पावरफुल हिटर बनेका थिए ।

पहिचान र सांस्कृतिक आत्मसम्मान, मधेश प्रदेशको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधतालाई लोगोमा समेट्ने उद्देश्यमा टोलीले ती जनतासँग आत्मीय सम्बन्ध कायम गर्ने अपेक्षा गर्दै बोल्ट्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रिकेट भावना र प्रतिस्पर्धा, विजयको मौसमले देखाएको आत्मविश्वास अब लोगो र ब्रान्डिङमार्फत अझ दृढ हुनेछ । साँच्चिकै दृढ र साहसी शैली, उत्साहपूर्ण प्रस्तुतिको वाचा यो लोगोले सत्य बनाउने छ ।’

नयाँ लोगो सार्वजनिक हुनु त्यो यात्राको अर्को कोसेढुंगा भएको र त्यसमा टोली, समर्थक र सम्पूर्ण मधेशले साझा गर्वका साथ आफ्नो परिचय बनाउने बोल्ट्सले जनाएको छ ।