ओमानमाथि पाकिस्तानको सहज जित

0 Shares

दुबई — कमजोर ब्याटिङ प्रदर्शन गरे पनि पाकिस्तानले शुक्रबार एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । पाकिस्तानले दुबईमा शुक्रबार आफ्नो पहिलो खेलमा ओमानलाई ९३ रनले पराजित गर्यो ।

१ सय ६१ रनको लक्ष्य पाएको ओमान दुबई इन्टरनेसनल क्रिकेट रंगशालामा १६.४ ओभरमा केवल ६७ रनमै अलआउट भयो । हमाद मिर्जाले २७, ओपनर अमिर कलिमले १३ र सकिल अहमदले १० रन बनाउनु बाहेक ओमानका अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।अहमद आउट हुने अन्तिम खेलाडी थिए ।

अनुभवी टोलीका अगाडि ओमानको ब्याटिङ तहसनहस भएको थियो । पाकिस्तानबाट सइम अयुब, सुफियान मुकिम र फहिम अश्रमले २–२ तथा सहिन साह अफ्रिदी, अबरार अहमद, मोहम्मद नबाजले १–१ विकेट लिए ।यसअघि मोहम्मद हरिसले अर्धशतक बनाए पनि पाकिस्तान १६०–७ को स्कोरमै रोकिएको थियो । हरिसले ४३ बलमा ६६ रन नबनाएको भए पाकिस्तानको स्थिति अझै कमजोर हुन सक्थ्यो । पाकिस्तानले पहिलो ५ ओभरमा ३१ रनमात्र बनाउन सकेको थियो र त्यसमा दुई बाउन्ड्रिजमात्र थियो । पावर प्लेको अन्तिम तथा छैटौं ओभरमा १६ रन जोड्दै पाकिस्तानले आफ्नो स्थिति सुधारेको थियो ।

ओपनर अयुब आफूले सामना गरेको पहिलो बलमै ‘गोल्डेन डक’ भएपछि पाकिस्तानको सुरुआत राम्रो हुन सकेन । सुरुमै जीवनदान पाएका अर्का ओपनर साहिबजादा फरहानले २९ बल खेल्दै केवल १ चौका प्रहार गरेर २९ रन बनाए । उनी र हरिसले दोस्रो विकेटमा ८५ रनको साझेदारी गरेका थिए ।

हरिसले ७ चौका र ३ छक्का प्रहार गरे । पहिलो ६ ओभरको पावर प्लेमा उनी १८ बलमा १६ रन बनाएर खेलिरहेका थिए । उनले अर्को २५ बलमा ५० रन जोडेका हुन् । फाखर जमान १६ बल खेलेर २ चौका प्रहार गरी २३ रनमा अविजित रहे । कप्तान सलमान अघा ‘गोल्डेन डक’ आउट हुने अर्का खेलाडी थिए । मोहम्मद नवाजले १० बल खेल्दै ४ चौकासहित १९ रन बनाए ।

ओमानका साह फैजल र अमिर कलिमले ३–३ विकेट लिए । फैजलले ४ ओभरमा ३४ र कलिमले ३१ रन खर्चे । १ विकेट मोहम्मद नदिमको नाममा थियो । पाकिस्तानले आइतबार आफ्नो चिरप्रतिद्वन्द्वी भारतविरुद्ध खेल्ने छ । भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गरिसकेको छ ।