बैंकिङदेखि अटोमोबाइल्स र होटल व्यवसायमा पनि ठूलो क्षति

0 Shares

काठमाडौं  — गत मंगलबारदेखि सुरु जेन–जी आन्दोलनका क्रममा मुलुकभर निजी लगानीका धेरै आवास, उद्योग, व्यवसाय, संघसंस्थालगायतमा तोडफोड तथा आगजनी भए । उद्योगीका निजी आवासदेखि व्यावसायिक संघसंस्थाका भौतिक संरचनामा पनि ठूलो क्षति पुग्यो । देशका विभिन्न स्थानमा रहेका व्यावसायिक प्रतिष्ठानमा केकस्तो क्षति पुगेको छ, यहाँ चर्चा गरिएको छ ।

यही बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकका २५ शाखा कार्यालय र ४१ एक्सटेन्सन काउन्टरमा तोडफोड तथा आगजनी भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

सरकारी कार्यालय मालपोत, यातायात, राजस्व कार्यालयलगायत स्थानमा रहेका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरमा बढी क्षति पुगेको बताउँदै शर्माले सरकारी तथा निजी संस्थामा आगजनी तथा तोडफोड हुँदा तिनका छेउमा रहेका बैंकका शाखा, काउन्टर र एटीएम बुथमा पनि क्षति पुगेको उल्लेख गरे । साथै, वाणिज्य बैंकहरूका ४६ एटीएम बुथमा तोडफोड तथा आगजनी गरिए पनि मानवीय क्षति, नगद चोरी तथा लुटपाटका घटना हुनबाट भने जोगिएको छ ।बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थाका सीमित शाखामार्फत सेवा दिइरहेका छन् । कर्फ्यूका कारण आवतजावतमा समस्या भएकाले अत्यावश्यकबाहेक ग्राहक नआएको बैंक कर्मचारी बताउँछन् । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई वित्तीय सेवा निरन्तर राख्न र आफ्नो बैंकका शाखाबाट भइरहेका वित्तीय सेवा सुविधाका बारेमा जानकारी दिने गरी बैंकको वेबसाइटमा राख्न निर्देशन दिएको छ ।

आन्दोलनका कारण धेरै बैंकका एटीएम सेवा पनि बन्द भएपनि बिहीबारदेखि अधिकांश बैंकका एटीएम खुला रहेको नेपाल बैंकर्स संघले जनाएको छ । उपत्यकाबाहिर पनि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वयन गरेर मात्र सुरक्षित रूपमा सेवा दिने भनिएको बैंकर्स संघले जनाएको छ । विद्युतीय भुक्तानी डिजिटल बैंकिङ सेवामा भने कुनै समस्या नरहेको संघको भनाइ छ ।

आन्दोलनका क्रममा धेरै बिमा क्षेत्रसँग सम्बन्धित भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण अझै आइसकेको भने छैन । शुक्रबारसम्म बिमा कम्पनी नखुलेका कारण क्षति भएका सम्पत्तिका पनि के कतिको बिमा गरिएको छ, यकिन हुन सकेको छैन । उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्योट गर्न प्राधिकरणले निर्देशन दिइसकेको छ ।

आगनजनीले ध्वस्त सिंहदरबार, सर्वोच्च अदालतलगायत कुनै पनि सरकारी कार्यालयको बिमा नगरिएकाले पूर्वाधारमा क्षति ठूलो भए पनि निकै कम सम्पत्तिका मात्र बिमा गरिएको बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । त्यसैगरी, करिब आधा दर्जनभन्दा बढी शैक्षिक संस्थाहरूमा पनि आगजनी तथा तोडफोड गरिएको छ । आगजनी तथा तोडफोडका कारण खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, पुरानो बानेश्वरस्थित ग्लोबल कजेल अफ म्यानेजमेन्ट, कालोपुलस्थित जेभियर इन्टरनेसनल, कुपन्डोलस्थित नाइटिङ्गेललगायत शैक्षिक संस्थामा क्षति पुगेपनि यकिन विवरण प्राप्त भइसकेको छैन ।

काठमाडौं उपत्यकासँगै देशका मुख्य सहरमा रहेका भाटभटेनी सुपरमार्केटका १२ स्टोरसहितको भवनमा आगजनी तथा लुटपाट र तोडफोड गरिएको छ । टंगाल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदामसहित पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका गरी १२ शाखा भवन पूर्ण रूपमा ध्वस्त बनाइएका छन् भने कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र बालाजु स्टोरमा तोडफोड र लुटपाट भएको छ । भाटभटेनी व्यवस्थापनले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको बताएको छ । भाटभटेनीका करिब १० हजार कर्मचारीमध्ये तोडफोड तथा आगजनीमा परेका शाखामा मात्र करिब ५ हजार कर्मचारी कार्यरत थिए ।

अटोमोबाइल बजारमा पनि अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अनौपचारिक जानकारी अनुसार कम्तीमा १३ वटा मोटर ब्रान्डका डिलर तथा सोरुममा तोडफोड गरिएको छ भने बिक्रीका लागि राखिएका दर्जनौं गाडीमा आगजनी गरिएको छ ।

शुक्रबारदेखि विभिन्न सोरुम र गाडीमा भएको क्षतिको विवरण संकलन सुरु गरिएको नाडाका महासचिव सुरेन्द्र उप्रेतीले बताए । प्रारम्भिक तथ्यांकअनुसार, सीजीको थापाथली र ढुंगेअड्डास्थित सोरुम तथा त्यहाँ रहेका गाडी सम्पूर्ण रूपमा आगजनीबाट नष्ट भएका छन् । सिप्रदी र लक्ष्मी हुन्डाईका शोरुममा समेत आगजनी र गाडीमा क्षति पुगेको छ । त्यसैगरी महिन्द्रा, सुजुकी, केवाईसी, जीओन र लिप मोटर आदि ब्रान्डका गाडीमा पनि क्षति पुर्‍याइएको छ । सीजी होल्डिङ्सको थापाथली र सतुंगलका गाडी सोरुम पनि जलाइएको छ । आर्थिक क्षतिको संकलन भइरहेको चौधरी ग्रुपले जनाएको छ ।

पोखराका अटो व्यवसाय पनि आन्दोलनले प्रभावित भएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले निषेधाज्ञा र कर्फ्युका कारण क्षतिको विवण संकलन गर्न कठिनाइ पुगेको बताएको छ । काठमाडौंसहित देशभरका होटल व्यवसायमा पनि ठूलो क्षति पुगेको छ ।

काठमाडौंको हिल्टन, वर्णवास, ह्यात र चन्द्रागिरि रिसोर्टको बेस स्टेसनमा आगलागी तथा तोडफोडका कारण बढी क्षति पुगेको छ । शंकर ग्रुपले केही महिनाअघि मात्र ८ अर्बको लगानीमा सञ्चालनमा ल्याएको हिल्टन होटलमा नौ वटा बैंकले कम्तीमा ५ अर्ब रुपैयाँ बराबरको वित्तीय लगानी गरेका थिए । आगजनीपछि होटलले सञ्चालन तत्काल रोकेको छ । त्यसैगरी, पोखराको वर पिपल, बगैंचा, सरोवरलगायत होटलमा प्रदर्शनकारीले गरेको तोडफोड तथा आगजनीले क्षति पुगेको छ ।