आसाममा जारी शृंखलामा नेपाल ‘ए’ को अग्रता

0 Shares

काठमाडौँ — नेपाल ‘ए’ ले शनिबार आसामविरुद्धको तेस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा जित हात पार्दै शृंखलामा अग्रता लिएको छ । सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले एसीए रंगशालाको फ्लडलाइटमा आसामलाई ९ रनले पराजित गर्दै ५ खेलको शृंखलामा २–१ को अग्रता बनाएको हो ।

सन्दीपले ४८ बलमा ७४ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९६ रन बनायो । जबाफमा आसाम पुरा ओभर खेल्दै १ सय ८७ रनमा अलआउट भयो । वर्षाले प्रभावित पहिलो खेलमा डकवर्थ लुइस पद्धतिका आधारमा १५ रनले पराजित नेपालले दोस्रो खेल ९६ रनले जितेको थियो ।

सन्दीपले ६ चौका र ६ छक्का प्रहार गरे । ओपनर शुभ कंसाकार ८ रनमै आउट भए । उनका ओपनिङ जोडी कप्तान अनिल साहले २० बलमा ५ चौकासहित ३१ रन बनाए । तृतराज दासले ३२ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे । बसिर अहमद १ रनमै आउट भए पनि आदिल आलम अन्सारीले १६ बलमा १ चौका र ४ छक्कासहित ३५ रन बनाए । आसामबाट आकाश सेन गुप्ताले ४ ओभरमा ४९ रन खर्चेर २ तथा मृनमोय दत्त, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट लिए ।

आसामबाट निहार डेकाले सर्वाधिक ४० रन बनाए । उनले २३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । सुमित घडिगाउनकरले १९ बलमा समान ३ चौका र छक्कासहित ३६, साहिल जैनले २१ बलमा २ चौकासहित २४ रन बनाए । अब्दुल अजिज कुराइसीले १७ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए ।

नेपालबाट कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले २–२ विकेट लिए । कमलले ४ ओभरमा १ मेडन राख्दै ४६, आकाशले ४ ओभरमा ५२ र विवेकले ४ ओभरमा १७ रन खर्चेका थिए । आदिलले १ विकेट लिए ।