आसामसँग तेस्रो टी-२० खेल्दै नेपाल ‘ए’, सिरिजमा अग्रता लिने मौका

0 Shares

भारत भ्रमणमा रहेको नेपालको ‘ए’ क्रिकेट टिमले आज आसाम स्टेट टोलीसँग तेस्रो टी–२० खेल्दै छ । यी दुई टिमबीचको खेल बेलुका ५ बजेदेखि गुवाहाटीमा सुरु हुनेछ ।

पाँच खेलको सिरिज १–१ को अवस्थामा छ । पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो म्याचमा सानदार पुनरागमन गर्‍यो । नेपालले दोस्रो खेलमा आसामलाई ९६ रनले हरायो ।
यस खेलमा नेपाल ‘ए’ ले आसामलाई ७७ रनमै अलआउट गर्‍यो । नेपाल आज पनि त्यही प्रदर्शन दोहोर्याउँदै सिरिजमा २–१ को अग्रता लिने सोचमा छ । नेपाल ‘ए’ टिम १६ महिनापछि सिरिज खेलिरहेको हो ।

‘ए’ ले अन्तिपटक गत वर्षको अप्रिलमा आयरल्याण्ड ‘ए’ सँग खेलेको थियो । भारत भ्रमणमा नेपालको कप्तानी अनिलकुमार साहले गरिरहेका छन् ।

टिममा उनीसहित अर्जुन घर्ती मगर, तृतराज दास, शुभ कंसाकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, मोहम्मद आदिल आलम, विवेक यादव, पवन सर्राफ, बसिर अहमद, कमल सिंह ऐरी, आकाश चन्द, सागर ढकाल, शेर मल्ल र युवराज खत्री रहेका छन् ।