सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

0 Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो एकदिवसीय बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले आफ्नो स्थानमा सुधार ल्याएका छन् ।

पछिल्लो एकदिवसीय बलिङ वरीयतामा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । पछिल्लो वरीयतामा उनी संयुक्त रुपमा ६३औं स्थानमा छन् । सन्दीप र केन्याका थोमस ओडोयोको रेटिङ प्वाइन्ट बराबर छ ।

पछिल्लो वरीयतामा दीपेन्द्रसिंह ऐरीले पनि दुई स्थान सुधार गरेका छन् । दीपेन्द्र पछिल्लो वरीयतामा संयुक्त रुपमा ८८औं स्थानमा छन् । दीपेन्द्र र स्कटल्यान्डका क्रिस सोलको रेटिङ प्वाइन्ट बराबर छ ।

पछिल्लो एकदिवसीय बलिङ वरीयतामा नेपाली खेलाडी ललित राजवंशीलाई भने घाटा लागेको छ । उनी विगतको तुलनामा एक स्थान तल झरेका छन् । नयाँ वरीयतामा उनी ५६औं स्थानमा छन् ।

करण केसी भने ९९औं स्थानमा यथावत् छन् । पछिल्लो एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो स्थानमा उक्लिएका छन् । उनी विगतको तुलनामा दुई स्थान माथि उक्लँदै पहिलो वरीयतामा पुगेका हुन् ।

दोस्रो स्थानमा आसीन श्रीलंकाका महिश थिक्सना र तेस्रो स्थानमा आसीन भारतका कुलदीप यादव विगतको तुलनामा एक स्थान तल झरेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा भने भारतका शुभमन गिल पहिलो स्थानमा यथावत् छन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम दोस्रो, न्युजिल्यान्डका ड्यारल मिचेल तेस्रो, श्रीलंकाका चरिथ असालंका चौथो र आयरल्यान्डका ह्यारी टेक्टर पाँचौं स्थानमा यथावत् रहेका छन् ।

एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका सोमपाल कामीले एक स्थान प्रगति गरेका छन् । उनी पछिल्लो वरीयतामा ६१औं स्थानमा आसीन छन् । यसअघिको वरीयतामा उनी ६०औं स्थानमा थिए । दीपेन्द्रसिंह ऐरी ५९औं स्थानमा यथावत् छन् । सन्दीप लामिछाने पनि ६६औं स्थानमा यथावत् छन् ।

कुशल मल्ल र ललित राजवंशी पनि एक स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा कुशल मल्ल संयुक्त रुपमा ८३औं र ललित ९४औं स्थानमा आसीन छन् । करण केसी भने एक स्थान तल झरेर ७६औं वरीयतामा पुगेका छन् ।