टप इण्ड टी-२० : होबार्टलाई हराएर जितको खाता खोल्ने सोचमा नेपाल

0 Shares

अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्ने तालिका छ । नेपाल र होबार्टबीचको खेल मंगलबार बिहान ११ः१५ देखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले तीन म्याच खेल्दासम्म सबै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा एन्टी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ‘ए’ विरुद्ध ३२ रन तथा तेस्रो म्याचमा मेलबर्न स्टार्सविरुद्ध ३१ रनले पराजित भयो ।

नेपाल मंगलबार हारको यात्रा टुंग्याउने योजनामा छ । अंकविहीन नेपाली टिम अहिले तालिकाको १०औँ स्थानमा छ । नेपालको प्रतिद्वन्द्वी होबार्ट तालिकाको सातौं स्थानमा छ । उसले तीन म्याच खेल्दासम्म दुईमा हार तथा एक खेलमा जित निकालेको छ ।

होबार्ट मंगलबार नेपाललाई हराएर दोस्रो जित दर्ता गर्ने सोचमा छ । होबार्टको टिममा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका खेलाडी छैनन् । त्यसका बाबजुद पनि उसले जारी प्रतियोगितामा राम्रो ब्याटिङ गरिरहेको छ । होबार्टले दोस्रो खेलमा मेलबर्न स्टार्सविरुद्ध पहिला ब्याटिङ गर्दै २ सय २७ रन बनाएको थियो । ऊ अब नेपालविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गर्न चाहन्छ ।

यता नेपाल भने ब्याटिङमा संघर्ष गरिरहेको छ । नेपालले तीन म्याच खेल्दा १ सय ५५ रनको आँकडा पूरा गर्न सकेको छैन । नेपाली टिम मंगलबार उत्कृष्ट कमब्याक गर्दै सुधारिएको प्रदर्शन गर्ने योजनामा छ । नेपालले जारी प्रतियोगितालाई अभ्यासको रूपमा लिएको छ ।

सोही कारण मुख्य प्रशिक्षक स्टुअर्ट लले प्रत्येक खेलमा प्लेइङ–११ मा परिवर्तन गरिरहेका छन् । मंगलबारको खेलमा पनि प्लेइङ सेटमा परिवर्तनको सम्भावना छ ।