इंग्लिस प्रिमियर लिग : रिचार्लिसनको गोलमा टोटनहमको उत्कृष्ट सुरुआत

0 Shares

लन्डन — ब्राजिली स्ट्राइकर रिचार्लिसनको दुई गोलमा टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–० ले पराजित गरेको छ । यस नतिजाले स्पर्सका नयाँ व्यवस्थापक थोमस फ्रान्कलाई विजयी सुरुआत दिलाएको छ ।

एन्गे पोस्टेकोग्लोउले गत सिजन युरोपा लिग जिताए पनि प्रिमियर लिगमा १७ औं स्थानमा रहेका कारण टोटेनहमले उनलाई बर्खास्त गर्दै फ्रान्कलाई जिम्मेवारी दिएको थियो । तर मध्यसातामा मात्र टोटनहम यूईएफए सुपर कपमा दुई गोलका अग्रताका बावजुद पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

रिचर्लिसनले सानदार प्रदर्शन गरेपछि ब्रेन्टफोर्डबाट आएका फ्रान्कले पनि टोटनहमबाट प्रिमियर लिगमा भने उत्कृष्ट सुरुआत गरेका हुन् । फ्रान्कले डोमिनिक सोलान्कीको स्थानमा रिचार्लिसनलाई मुख्य स्ट्राइकरको जिम्मा दिएका थिए । रिचार्लिसनले फ्रान्कको त्यो निर्णयप्रति दुवै हाफमा १–१ गोल गर्दै न्याय गरे ।

बर्नली गत सिजन च्याम्पियनसिपबाट बढुवा हुनेक्रममा १ सय अंक बटुल्न सफल भएको थियो, सोक्रममा टोलीले ४६ खेलमध्ये ३४ मा ‘क्लिन सिट’ राखेको थियो । स्कट पार्करको टोलीले केवल १६ गोलमात्र खर्चेर इंग्लिस फुटबलमा कीर्तिमान राखेको थियो । तर रिचार्लिसनले १० औं मिनेटमै बर्नलीको रक्षापंक्ति तोड्न सफल भए । वेस्ट ह्यामबाट ल्याइएका मोहम्मद कुदोजको पासमा रिचार्लिसनले गोल गरे ।

गत सिजन ५ गोलमात्र गरेका उनका लागि यो ठूलो आत्मविश्वास थियो । ६० औं मिनेटमा उनले आर्कषक गोल गरे । कुदोजको ‘पिन–प्वाइन्ट’ क्रसमा रिचार्लिसनले १० यार्डबाट ‘बाइसाइकल किक’ मा उक्त गोल गरे । ब्रेनान जोनसनले पापे सारको पासमा टोटनहमबाट ६० औं मिनेटमा तेस्रो गोल गरे ।

गत सिजनमा प्रिमियर लिगमा संघर्ष गरेको टोटनहमले यस पटक अंकतालिकामा सुरुआती अग्रता लिएको छ । नवप्रवेशी सन्डरल्यान्डले पनि वेस्ट ह्यामलाई ३–० ले नै पराजित गरी टोटनहमसँगै अंक तालिकामा समान अग्रता बनाएको छ । आर्सनल र बायर लेभरकुजनका मिडफिल्डर ग्रानिट साकासहित धेरै नयाँ खेलाडीलाई अनुबन्धित गरेको सन्डरल्यान्डले तीनै गोल दोस्रो हाफमा गर्‍यो ।

गोल गर्ने भने सन्डरल्यान्डलाई च्याम्पियनसिपबाट बढुवा गराउने तीन प्रमुख खेलाडी नै थिए । इलिइजर मायेन्डाले ६१ औं मिनेटमा हेडबाट सन्डरल्यान्डको गोलको खाता खोले । सेन्टर ब्याक डेन बालार्डले ७३ मिनेट र विल्सन इसिडोरले इन्ज्युरी टाइममा तेस्रो गोल गरे ।

क्लब स्थानान्तरणको विषयलाई लिएर स्ट्राइकर एलेक्सान्डर इसाकविनै उत्रिएको न्युक्यासल १० खेलाडीमा सीमित एस्टन भिल्लासँग गोलरहित बराबरीमै रोकियो । एन्टोनी गोर्डनलाई लडाएका कारण २४ मिनेट बाँकी हुँदा इजरी कोन्साले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा सीमित भएको थियो । रोड्रिगो मुनिजले ९६ औं मिनेटमा गोल गरेपछि फुलहमले ब्राइटनलाई १–१ को बराबरीमा रोकेको छ । म्याट ओ’रिलेको पेनाल्टी गोलमा यसअघि ब्राइटनले अग्रता लिएको थियो ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिगको नयाँ यात्रा शुक्रबार राति एनफिल्डमा बर्नमाउथलाई ४–२ ले पराजित गरेको थियो । फेडेरिको किइसा र मोहम्मद सलाहले अन्तिम समयमा २ गोल गर्दै लिभरपुललाई विजयी दिलाए ।

आफ्नो प्रिय स्ट्राइकर डिएगो जोटाको स्पेनमा कार दुर्घटनामा परी मृत्यु भएयता लिभरपुलको प्रिमियर लिगमा यो पहिलो खेल थियो । खेल सुरु हुनुअघि र जोटाले लगाउने जर्सी नम्बर २० अनुसार २० औं मिनेटमा समर्थकले जोटा र सोही दुर्घटनामा निधन भएका उनका भाइ एन्ड्रेप्रति ठुलो सम्मान दर्शाएका थिए । खेल सकिएपछि समर्थकले जोटाको गीत गाइरहँदा मोहम्मद सलाहले आफूले गरेको गोल उनीप्रति समर्पित गर्दै भावविह्वल भएका थिए ।

नयाँ अनुबन्धित हुगो इकिटिकेले ३७ औं मिनेटमा लिभरपुलको खाता खोले । मध्यान्तरपछिको चौथो मिनेटमै कोडी गाक्पोले दोस्रो गोल गरे । एन्टोनी सेमोन्योले ६४ र ७६ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । तर वैकल्पिक खेलाडी किइसाले ८८ र सलाहले इन्ज्युरी टाइमको चौथो मिनेटमा गोल गरेर लिभरपुललाई विजय दिलाए ।