खर्चालु लिभरपुललाई छैन सजिलो

0 Shares

लिभरपुल — लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्न मन खोलेर खर्चेको छ । तर टोलीले गाह्रै प्रतिद्वन्द्वीहरूको सामना गर्ने तय छ । त्यसमा एक भयो, आर्सनल । यो क्लब चाहन्छ, उपाधि नजिक पुगेर पन्छिने छवि अब नरहोस् । अर्को भयो, म्यानचेस्टर सिटी ।

यो क्लब भने फेरिएर अगाडि आएको छ । आर्ने स्लटको लिभरपुलले गत सिजन कीर्तिमान बराबरी गर्दै २० औं पटक माथिल्लो डिभिजनको उपाधि जितेको थियो ।

त्यो स्लटको पहिलो सिजन थियो । त्यसपछि लिभरपुलले सक्दो खर्चेर आफूलाई अझ बलियो बनाएको छ । यसबीच एउटा दुःखद घटना पनि सामना गर्नुपरेको छ । पोर्चुगाली फरवार्ड डिएगो जोटाले गत महिना गाडी दुर्घटनाबाट आफ्नै भाइसँगै ज्यान गुमाए । यसले क्लबमा अथाह दुःख छाएको थियो । त्यसैले पूरा सिजन लिभरपुलले उनलाई श्रद्धान्जली दिइरहने छ, उनको २० नम्बर जर्सीलाई नै संन्यास दिएर ।

अहिलेसम्म लिभरपुलले ३५ करोड डलर खर्चेको छ । यसक्रममा भित्रिएका छन्, फ्लोरिन विर्टज, ह्युगो एकिटिके, मिलोस केरकेज र जेरेमी फिर्मपोङ । लुइस डियाज र डारविन नुनेज बाहिरिएपछि लिभरपुलको अग्रपंक्ति अझै ठ्याक्कै मिल्न भने सकेको छैन । त्यसैले लिभरपुलले एलेक्जान्डर इसाकका लागि कीर्तिमानी रकम तिर्न तयार देखिएको छ । यी स्विडेनी स्ट्राइकरका लागि न्युकासल युनाइटेडले भने सक्दो बढी रकम मागिरहेको छ ।

लिभरपुलका विरोधीलाई विश्वास रहनेछ, विर्टज र एकिटिकेलाई प्रिमियर लिगको ढाँचामा ढाल्न अझै केही समय लाग्नेछ । दुवै खेलाडी बुन्डेसलिगामा भने चम्केका हुन् । स्लटको चिन्ता त डिफेन्समा पनि रहनेछ । डच प्रशिक्षक के मान्छन् डिफेन्समा अझै केही कमजोरी छन् ।

त्यसैको कारण त हो, लिभरपुल कम्युनिटी सिल्डको खेलमा क्रिस्टल प्यालेससँग पराजत रहेको । त्यो पनि दुईपल्ट अग्रता लिएर कायम राख्न नसकेपछि हार बेहोरेको हो । यता आर्सनलले पछिल्ला तीन सिजन लगातार दोस्रो स्थानमा आफूलाई टुंग्याएको छ । त्यसैले २२ वर्षयता पहिलो पटक आर्सनल उपाधि जित्ने अभियानमा रहनेछ । यसकै लागि भनेर मिखेल आर्टेटाले पनि २६ करोड डलरभन्दा बढी खर्चिसकेको छ । स्पेनी अन्तर्राष्ट्रिय खेलाडी मार्टिन जुबिमेन्डीले मिडफिल्डमा प्रमुख खेलाडीको भूमिका निभाउने छन् ।

क्रिस्टियन नोरगार्ड, क्रिस्टियन मोस्क्वोयर, नोनी माडुके र केपा एरिजाबालागाको आगमनले आर्सनल टिममा गहिराइ बनेको छ । आर्सनललाई पनि एउटा चलेको स्ट्राइकरको खाँचो छ । प्रश्न हो, के यो भूमिका भिक्टर ग्योकेरेसले निभाउन सक्छन् त ? स्पोर्टिङ लिस्बनमा दुई वर्ष बस्दा उनले एक सय दुई खेलमा ९७ गोल गरेका छन् । यसअघि इंग्ल्यान्डमै उनको अनुभव राम्रै रहेको थियो ।

ब्राइटनमा जम्न नसकेपछि ग्योकेरेसले कोभेन्ट्री र स्वान्सी जस्ता टिमका लागि दोस्रो डिभिजनमा ४१ गोल गरेका थिए, १ सय २१ खेलमा । स्लटले उनीबारे भनेका छन्, ‘उनी यस्ता खेलाडी हुन्, जसलाई अवसर दिइयो भने डरलाग्दा हुन सक्छन् ।’ लिभरपुलले गत सिजन लिग जित्नुको अर्थ च्याम्पियन छवि गुमाएको टिम रह्यो, म्यानचेस्टर सिटी । पेप ग्वार्डिओलाको सिटीले त्यस अगाडि अपूर्व ढंगले लगातार चारपल्ट लिग जितेको थियो ।

तर बालोन डी’अर विजेता रोड्री नभएपछि सिटी कमजोर देखिएको थियो । यी स्पेनी खेलाडीलाई मैदानमा फर्किन अझै सेप्टेम्बरसम्म कुर्नुपर्नेछ । घुँडाको गम्भीर चोटमुक्त हुन उनलाई केही बढी समय लागेको छ । सिटीले पनि त्यसै कारण टिममा रायन एइटनुरी, टिजानी रेइजेन्डर्स र रायन चेर्कीलाई समावेश गरेर बलियो बनाउने प्रयास गरेको छ । सन् २०१६–०१७ को सिजनयता पहिलो पटक उपाधिविहीन भएको सिटी जुर्मुराउने प्रयासमा छ ।

सिटी र लिभरपुललाई छाडेर सन् २०१७ मा पछिल्लो पटक लिग जित्ने टिम हो, चेल्सी । पछिल्लो महिना अमेरिकामा भएको क्लब वर्ल्डकप जितेर चेल्सीले आफू पुरानो लयमा फर्केको छनक देखाएको छ । गत सिजन लिगको चौथो स्थानमा रहेको चेल्सीको युवा खेलाडी अत्यधिक लगानी गर्ने रणनीतिले विस्तारै प्रतिफल दिन थालेको देखिन्छ ।

त्यसैकै नतिजा हो, जाओ पेड्रोले क्लब वर्ल्डकपको तीन खेलमा तीन गोल गरेको । गत सिजन चेल्सी चौथोमा थियो, च्याम्पियन लिभरपुलभन्दा १५ अंकले पछाडि । पेड्रोले चेल्सीलाई चाहिएजस्तो विश्वस्तरीय स्ट्राइकरको समस्या समाधान गर्न सक्छन् । आफ्नो आक्रमण बलियो बनाउने प्रयास त म्यानचेस्टर युनाइटेडले पनि गरेको छ । टोलीले बेन्जामिन सेस्का, म्याथेस कुन्हा र ब्रायन एमबेउमो किनेको छ ।

युनाइटेड गत सिजन १५ औं स्थानमा थियो । यही टिमलाई टोटनहमले युरोपा लिगको फाइनलमा हराएको थियो । यति गरेर प्रशिक्षक एन्गे पोस्टेकोग्लुको जागिर बचेन र बर्खास्तीमा परे । अब उनको स्थान लिएका छन्, ब्रेन्टफोर्डका पूर्वप्रशिक्षक थोसम फ्रान्कले । अब उत्तरी लन्डन क्लबले उनकै नेतृत्वमा खेल्नेछ र सुदुढ खेल प्रदर्शन गर्ने उद्देश्यमा रहनेछ ।

यसपल्ट बढुवा खाएर खाएर आएका तीन टिम छन् लिड्स युनाइटेड, सन्डरल्यान्ड र बर्नली । पछिल्लो दुई सिजनको एउटा खराब तथ्यांक के छ भने यसरी बढुवा खाएका तीन टिमनै रेलिगेसनमा पर्ने गरेका छन् । त्यसैले ती तीनै टिमको एकमात्र उद्देश्य आफूलाई जोगाउने रहनेछ । यो तथ्यले के पनि प्रमाणित गर्छ भने विश्व फुटबलकै सबैभन्दा धनी प्रिमियर लिग र दोस्रो डिभिजनबीचको दूरी अझ झन बढेको छ ।