अमेरिका — नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे ।
‘नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो, देशभरिका विद्युत् प्रणाली सञ्चालन गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो । अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानुपर्ने अवस्था आयो,’ घिसिङले भने, ‘त्यसैले नेपालमा अहिले देखिएको विद्युत् आपूर्तिको समस्या स्रोत नभएर व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो ।’
एशियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना लगानी जुटाउने पूर्वका कामहरू अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजना अन्यौलमा पार्ने काम गरेको घिसिङको टिप्पणी थियो ।
घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब–करिब सबैको घरमा बिजुली पुर्याएको, विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे ।
लोडसेडिङ अन्त्य कुनै जादू नभई प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमानदारपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जा मन्त्री, प्राधिकरणका कर्मचारी, आम उपभोक्ता, विदेशमा रहेका नेपालीको साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए ।
देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषणा गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे । ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभई सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उनले उल्लेख गरे ।