काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार हुने अक्सनमा १ सय ५० खेलाडीको नाम समावेश हुने भएको छ । एनपीएल दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आवेदन परेका ४ सय ५८ खेलाडीबाट अन्तिम अक्सनका लागि खेलाडी सर्टलिस्ट गरेको बुधबार जनाएको छ ।
पवन सर्राफ, मोहम्मद आदिल आलम, अर्जुन साउद, दिलीप नाथ, देव खनाल, शरद भेषावकर, सूर्य तामाङ र सुनाम गौतम गरी ८ खेलाडी ‘ए’ श्रेणीमा छन् । चोट कारण पवन गत वर्षको पहिलो संस्करणमा सहभागी थिएनन् ।
तीन वर्षअघि नेपाल ट्वान्टी–२० लिगमा स्पट फिक्सिङका आरोप लागेका आदिललाई क्यानले अघिल्लो महिनामात्र राष्ट्रिय प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो । भेट्रान शरदलाई चितवन राइनोज, अर्जुन र सूर्यलाई लुम्बिनी लायन्स, दिलीप र सुनामलाई पोखरा एभेन्जर्स तथा देव खनाललाई कर्णाली याक्सले रिलिज गरेको थियो ।
‘बी’ श्रेणीमा ३५ र ‘सी’ श्रेणीको मनोनयनमा १ सय ७ खेलाडी रहेका छन् । आकाश त्रिपाठी, आशुतोष घिरोहिया, अनिल खरेल, अर्जुन कुमाल, अविनाश कर्ण, वसन्त खत्री, भुवन कार्की, विपिन रावल, दर्शन सुनार, दीपक बोहरा, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, हरिशंकर साह, हेमन्त धामी, खड्कबहादुर बोहरा, कृष्ण कार्की, शंकर राना, मौसम ढकाल, मयन यादव, मिलन बोहरा, नारायण जोशी, प्रदीप ऐरी, पृथु बाँस्कोटा, प्रज्वल थापा, रवीन्द्रजंग शाही, रवि साह, साहिल पटेल, सन्तोष कार्की, रित गौतम, सन्तोष यादव, शेर मल्ललगायत खेलाडी ‘बी’ श्रेणीमा रहेका छन् ।