बेइजिङ — नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौ ९ग्वाङ्झाउ० स्थित नेपाली महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धाको आयोजना गरेको छ । प्रतिस्पर्धामा नेपाली टिम ३–१ गोलले पराजित भयो ।
हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा चीनस्थित नेपालीहरूको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले भाग लिएका थिए । चीनमा व्यवसायका सिलसिलामा रहेका नेपाली तथा एनआरएनए नेपालीको एउटा समूह र चिनियाँ खेलाडीबीचमा यस्तो खेल आयोजना गरिएको थियो । ग्वाङ्झाउस्थित विभिन्न देशका महावाणिज्य दूतावासले आयोजना गर्ने कन्सुलेट कप प्रतियोगिताहरूकम पनि नेपाली युवाले भाग लिने गरेका थिए ।
दुवै राष्ट्रका सहभागीबीच मित्रता झल्काउने गरी खेलकुद भावना प्रदर्शन गरिनुका साथै नेपाल–चीन सात दशकको कूटनीतिक सहयोगको उपलक्ष्यमा नेपाली प्रतिनिधि टोली र ग्वाङ्झाउको चिनियाँ टोलीबीच फुटबल प्रतिस्पर्धा गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।
औपचारिक झण्डोत्तोलन समारोहसँगै सुरु कार्यक्रममा नेपाल र चीनको राष्ट्रिय गान घन्काइएको थियो । ग्वाङ्झाउ नगरपालिकाको खेलकुद प्रशासनकी उपमहानिर्देशक लिन यानफन र महावाणिज्यदूत भरत खनालले द्विपक्षीय सम्बन्ध सुदृढ पार्न खेलकुदको भूमिकामा जोड दिए ।
ग्वाङ्जाउ प्रान्त जनसरकारको विदेश मामिला कार्यालयका एसिया डिभिजनका निर्देशक छन छियानले पनि कार्यक्रममा भाग लिए । ७० औं वार्षिकोत्सवको अवसरमा केक काटेर मनाइयो भने ९० मिनेटको फुटबल खेलले मैत्रीपूर्ण भावना प्रदर्शन गरेको सहभागीले बताए । विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरियो । उत्कृष्ट खेलाडी र सर्वाधिक स्कोररसहित विशेष पुरस्कार पनि प्रदान गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।